जनता टाइम्स

११ आश्विन २०७८, सोमबार ११:१६

प्रधानमन्त्रीले राखे पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रको रूपमा विकास गर्ने खाका


काठमाडौं, असोज ११ । प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यटन क्षेत्र प्रवर्धनको लागि सरकारले विशेष योजना बनाएर काम गर्ने अठोट गर्नुभएको छ । ४२ औँ विश्व पर्यटन दिवसको अवसमार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले पर्यटन क्षेत्रको पुनरुत्थान गर्न शुल्क तथा कर छुट, कोभिड–१९ विरुद्धको खोपमा प्राथमिकता दिने लगायतका नीतिगत व्यवस्था गरेको बताउनुभएको हो ।

‘आगामी दिनमा पर्यटन क्षेत्रलाई जोखिम बहन गर्न सक्ने क्षेत्रको रूपमा विकास गर्न व्यवसाय बीमा, कामदार र कर्मचारीको सामाजिक सुरक्षा र पर्यटन जोखिम कोष व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाइएको छ’, प्रधानमन्त्रीले दिनुभएको सन्देशमा भनिएको छ । नेपाल धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यावरणीय दृष्टिले विविधतापूर्ण र सम्पन्न विशिष्ट पहिचान भएको मुलुक भएको पनि प्रधानमन्त्रीले बताउनुभएको छ । विविधताको समुचित संरक्षण, सम्बर्द्धन र उपयोगबाट नेपाललाई सुरक्षित र भरपर्दो पर्यटन गन्तव्यका रूपमा विश्वमा थप स्थापित गर्न यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।

हिमाल, पहाड र तराईका विविधतायुक्त पर्यटकीय गन्तव्यको पहिचान, विकास र प्रवर्द्धनका माध्यमबाट आय तथा रोजगारी अवसर सिर्जना गरी लाभको वितरण स्थानीय जनसमुदायसम्म पुयाउन सकेमा समावेशी आर्थिक वृद्धि र विकास हासिल गर्न सकिने उहाँको भनाई छ । नेपालको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको प्रयास प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्रीले पुर्वाधार विकास, नयाँ पर्यटकीय उपजको पहिचान, विकास र विस्तारका लागि निजी क्षेत्र र व्यवसायीलाई सहुलियत दिन, सहजीकरण र सहकार्य गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको छ ।

उहाँले सन्देशमा अन्तर्राष्ट्रियस्तरमा द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय मञ्च मार्फत पर्यटन प्रवर्द्धन र सहकार्यका प्रयास हुँदै आएका जानकारी पनि दिनुभएको छ । आगामी दिनमा थप मित्रराष्ट्रहरूसँग संस्कृति, पर्यटन र हवाई सम्झौताहरू मार्फत उक्त प्रयासलाई विस्तार गर्ने र नेपाललाई अन्तराष्ट्रिय साँस्कृतिक तथा यातायात संजालमा सघन रूपमा आबद्ध गर्दै लगिने जानकारी पनि सन्देशमा दिइएको छ ।