जनता टाइम्स

३० बैशाख २०७६, सोमबार ०६:२३

नेपालको राजनीतिलाई एनआरएनए अमेरिकामा प्रवेश गराउनु हुन्न : बाला घिमिरे


उपाध्यक्षका उम्मेद्वार,मिड वेस्ट क्षेत्र, एनआरएन अमेरिका

गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको आगामी मे १८ र १९ तारिक हुन गइरहेको निर्वाचनमा मिडवेष्ट क्षेत्रबाट शिकागो निवासी समाजसेवी बाला घिमिरे उम्मेद्वार बन्नुभएको छ । गत मार्च २४ तारिक शिकागोमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गर्नुभएका उपाध्यक्षका उम्मेद्वार घिमिरेले एनआरएनए अमेरिकालाई राम्रो र हाम्रो बनाउने अठोट लिनुभएको छ । उम्मेद्वारी घोषणासँगै घिमिरेले थुप्रै राज्यहरुमा पुगेर आफू उम्मेद्वार बन्नुको कारण र आगामी योजना राखिसक्नु भएको छ । प्रष्ट बोल्ने र पाएको जिम्मेवारी सदैव पूरा गर्ने छवि स्थापित गरिसक्नु भएका घिमिरे किन एनआरएनएमा जान चाहिरहनुभएको छ ? के छन योजना ? यही बिषयमा उहाँसँग जनताटाइम्सले कुराकानी गरेको छ । प्रस्तुत छ, कुराकानीका सम्पादित अंश ।

एनआरएनए अमेरिकाको निर्वाचनको तयारी कसरी अघि बढेको छ ?

एनआरएन अमेरिकाको निर्वाचनको सन्दर्भमा अमेरिकास्थित विभिन्न राज्यमा रहनुभएका नेपाली साथीभाइहरुसँग भेटघाट र कुराकानी गर्ने अवसर मिलेको छ । जसले थप ऊर्जा मिलेको महसुस मैले गरेको छु । विगतमा भेट नभएका कतिपय नयाँ साथीहरुको चिनजान र आत्मीयताले नेपाली समुदायमा एक प्रकारको सकारात्मक ‘भाइभ’ पैदा गरेको छ । आपसी अन्तरक्रियाले सामाजिक जीवनमा नयाँ आयाम मिलेको छ । नेपाली समुदायको बीचमा भएको यो अन्तरघुलनले छुट्टै रमाइलो अनुभूति भइरहेको छ । चुनावी तयारीसँगै थुप्रै अनुभुतिहरु संगाल्ने अवसर पनि मिलेको छ ।

मिड वेस्ट क्षेत्रको उपाध्यक्षमा नै किन उम्मेद्वारी दिनुभएको ?

मैले करिब २ दशकभन्दा बढी सिकागोमा रहेर व्यावसायिक जीवनका साथै नेपाली समुदायको बीचमा सामाजिक कामहरु गर्दै आएको छु । अमेरिकामा रहेका नेपालीहरुको छाता संस्थाहरु आन्मा, नास्या र आनाका विभिन्न तहमा रहेर काम गरेको छु । यस्तै स्टेट अफ इलिनोइ र सिटी अफ सिकागोको मेयर एड्भाइजरी काउन्सिल मेम्बरको रुपमा काम गरेको अनुभव तथा साथीहरुको सुझावलाई समेत मध्यनजर गरेर मैले यो निर्णय लिएको हुँ । अर्को कुरा, यस क्षेत्रमा रहेका एनआरएनका संस्थापक मेम्बरहरुसँगको संगतले पनि मलाई एनआरएनए मोभमेन्टमा लाग्न उत्प्रेरित गरेको हो । तसर्थ, यसै क्षेत्रको नेतृत्व गरेर मिड वेस्ट क्षेत्रलाई पुनः एकपटक एनआरएनको हब बनाउने सोच समेत ममा जागृत भएको छ । त्यही हव बनाउनका लागि म यस क्षेत्रबाट उपाध्यक्षमा उम्मेद्वार बनेको हुँ ।

तपाईंलाई जिताउँदा नेपाली समुदायले के पाउँछन ? नयाँ योजनाहरु के छन् त ?

मैले भन्दै आएको छु कि एनआरएनएको आफनो छुट्टै कार्यालय चाहिन्छ । त्यसमा स्टाफहरु राखेर व्यवस्थित तरिकाले कामहरुलाई अगाडि बढाउन सकिन्छ । कार्यालय व्यवस्थित र स्टाफहरु समेत राखेर काम गर्न थाल्यो भने यसको एकाउण्टेबिलिटी कायम हुन्छ । कम्तीमा मैले यस क्षेत्रको उपाध्यक्ष भएपछि क्षेत्रीय कार्यालय राखिनेछ । अमेरिकी सरकारसँग स्थानीय स्तरमा सहकार्य र समन्वय गरेर इमर्जेन्सी फन्ड, इन्स्युरेन्स, इमिग्रेसन, इन्भेष्टमेण्ट र जब सर्चसम्बन्धी कुराहरुमा सहजताका साथ सहकार्य गर्न सकिन्छ ।

यी कामहरुलाई एनआरएनका च्याप्टर कमिटी र स्थानीय संस्थाहरुमार्फत स्टेट तथा लोकल गोभर्नमेण्टसँग सहकार्य गरेर अगाडि बढाउनु पर्दछ । यसका अलावा, नेपाली समुदायलाई उद्यमशीलतामा उत्प्रेरित गर्ने कुरामा पनि विभिन्न इन्फर्मेसन सेयरिंग सेसनहरु सञ्चालन गर्नुपर्दछ भन्ने मलाई लाग्छ । एसिएन तथा अमेरिकन कम्युनिटीसँग भएको मेरो सम्बन्ध र अनुभवलाई नेपाली समुदायको हितमा सदुपयोग गर्ने अवसरको रुपमा मैले यसलाई हेरेको छु ।

एनआरएनमा राजनीतिक रुपमा उम्मेद्वार बन्नेको चर्चा पनि छ नि ?

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा टिम टिम बनाएर जानु उपयुक्त छैन, हुँदैन । यो विसुद्ध स्वतन्त्र संस्था हो । यसलाई विसुद्ध स्वतन्त्र संस्थाको रुपमा नै विकास गरिनु पर्दछ । एनआरएनमा पार्टी र दलगत रुपमा जानु हुँदैन । पहिलो कुरा त हामी नेपालभन्दा धेरै टाढा अमेरिकाजस्तो ठाउँमा छौं । नेपालको राजनीतिलाई यहाँ प्रवेश गराउनुपर्ने कुनै जरुरी छैन । एनआरएनलाई पार्टीगत एलाइन्सबाट एकदमै टाढा राख्नुपर्दछ । निश्चित रुपमा सहयोगीहरुको बीचमा सहकार्य र भोटको आदान प्रदान हुनसक्छ । त्यसमा सक्षम र असल मानिसहरुलाई मतदाताहरुले पहिचान गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

मैले भन्दै आएको छु कि एनआरएनएको आफनो छुट्टै कार्यालय चाहिन्छ । त्यसमा स्टाफहरु राखेर व्यवस्थित तरिकाले कामहरुलाई अगाडि बढाउन सकिन्छ । कार्यालय व्यवस्थित र स्टाफहरु समेत राखेर काम गर्न थाल्यो भने यसको एकाउण्टेबिलिटी कायम हुन्छ । कम्तीमा मैले यस क्षेत्रको उपाध्यक्ष भएपछि क्षेत्रीय कार्यालय राखिनेछ । अमेरिकी सरकारसँग स्थानीय स्तरमा सहकार्य र समन्वय गरेर इमर्जेन्सी फन्ड, इन्स्युरेन्स, इमिग्रेसन, इन्भेष्टमेण्ट र जब सर्चसम्बन्धी कुराहरुमा सहजताका साथ सहकार्य गर्न सकिन्छ

एनआएनभित्र जुन विकृति छ, त्यसलाई हटाउने योजना चाँहि के छन त ?

विगत लामो समयदेखि जसरी टिम–टिममा बिभाजित भएर राजनीतिक वातावरण बन्दै आएको छ, कार्यसमितिमा रहेका साथीहरुले त्यसमा अलि बढी स्वतन्त्र र निष्पक्ष बनाउन भूमिका खेल्नुपर्दछ । त्यस्तो हुन नसकेकोले हरेक वर्ष विवाद र ग्रुपिजम हुने गरेको छ । म यो टिमगत एनआरएनलाई स्वतन्त्र एनआरएन र सबैको एनआरएन बनाउन कोसिस गर्नेछु । मैले जितेर अरु जोसुकै साथीले जिते पनि मेरो जोड भनेको राम्रा, आवश्यक एजेण्डाहरुलाई समर्थन र गलत कुराहरुको विरोध गर्ने नै हुन्छ । मेम्बरसिपलगायतका विभिन्न विषयमा जसरी नकारात्मक सन्देश गएको छ, यसलाई हामीले सकारात्मक सन्देश दिने गरी वातावरण बनाउनु पर्दछ । यस संस्थामा सबैका विषय र मुद्दाहरुको सम्बोधन हुने प्रणालीको विकासमा जोड दिनुपर्दछ भन्ने मलाई लाग्छ ।