जनता टाइम्स

११ कार्तिक २०७८, बिहीबार १६:११

बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डेको नालीवेली, यस्तो छ राजनीतिक पृष्ठभूमि


मकवानपुर, कात्तिक ११ । बागमती प्रदेश सरकारको मुख्यमन्त्रीका एकीकृत समाजवादीका उपाध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा (२) को उपधारा (१) बमोजिम प्रदेश सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्थाअनुसार पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

उहाँले केहीबेर अघि पद तथा गोपनीयताको शपथ लिनुभएको छ । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी हुनुभएका पाण्डे बाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री हुनुहुन्छ । यसअघि प्रदेशमा डोरमणि पौडेल र अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व गरिसक्नु भएको छ । पाण्डे एमालेबाटै निर्वाचित भएको भए पनि पार्टी फुटाएर नयाँ दलबाट मुख्यमन्त्री बन्नुभएको हो । यसअघि एमालेबाट मुख्यमन्त्री बनेकी शाक्यले राजीनामा दिएर नयाँ सरकार गठनका लागि बुधबार हिजो मार्गप्रशस्त गर्नुभएको थियो ।

शाक्यको राजीनामापछि सरकारको नेतृत्वका लागि दाबी गर्न प्रदेश प्रमुखले गरेको गरेको आह्वानबमोजिम गठबन्धनका तर्फबाट ५९ जना सांसदको हस्ताक्षरसहित गठबन्धनले मुख्यमन्त्रीमा पाण्डेलाई नियुक्त गर्न माग गरेको थियो । प्रदेश प्रमुखको कार्यालयले सरकारको नेतृत्वका लागि दाबी गर्न हिजो २४ घन्टाको समयसीमा दिएको थियो ।

प्रदेशसभामा १०९ जना सांसद रहेकोमा पाण्डे मुख्यमन्त्री बनेको दल एकीकृत समाजवादीको १३ जना मात्रै सांसद छन् । पाण्डेलाई मुख्यमन्त्री बनाउन माओवादी केन्द्रका २३, नेपाली कांग्रेसको २२ र जनता समाजवादी पार्टी (जसपा) को एक जना सदस्यले हस्ताक्षर गरेका थिए । केन्द्रीय गठबन्धनको सहमतिअनुसार बाग्मतीमा एकीकृत समाजवादीले सरकारको नेतृत्वको अवसर पाएको हो ।

बाग्मतीमा एकीकृत समाजवादी र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको चर्चा गरिए पनि औपचारिक रूपमा नेताहरूबाट पुष्टि हुने गरी भने बताइएको छैन । प्रदेश सरकार गठनका लागि आवश्यक ५५ बढी सांसदको समर्थन आवश्यक पर्नेमा गठबन्धनका तर्फबाट ५९ जना सांसदले साथ दिएपछि पाण्डेले मुख्यमन्त्री बन्ने अवसर पाउनु भएको हो ।

को हुन् मुख्यमन्त्री पाण्डे ?

पाण्डे एमाले विभाजन भई बनेको एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । एमालेमा रहँदा झलनाथ खनालनिकट रहनु भएका पाण्डे नेकपापछि माधव नेपालतिर लाग्नुभएको हो । आफ्नो राजनीतिक जीवन विद्यार्थीकालबाटै सुरु भएको बताउनु हुन्छ । विद्यार्थी बेलामै पसेको राजनीतिक चेतले आफूलाई कम्युनिष्ट बनाएको बताउने पाण्डेले ग्रामीण विकासमा स्नातकोत्तर गर्नुभएको छ । राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्नुअघि पाण्डेले शिक्षण पेसा अंगाल्नुभएको थियो ।

पाण्डे २०४८, २०५१, २०५६ र २०७० को संसदीय निर्वाचनमा विजयी हुनुभएको थियो । उहाँसँग संघीय सरकारमा स्थानीय विकासमन्त्रीको जिम्मेवारी निर्वाह गरेको अनुभव पनि छ । पाण्डे नेकपा मालेको सहसचिव हुँदै २०४३ मा जिल्ला पञ्चायत सभापति, २०५० मा एमालेको अञ्चल सचिव, २०५५ पार्टीको केन्द्रीय सदस्यको भूमिकामा हुनुहुन्थ्यो ।

उहाँ राजनीतिक आन्दोलनका क्रममा २०३३ मा ४२ दिन जेल पर्नुभएको थियो । सो क्रममा उहाँ पार्टीको जेल कमिटीको सदस्यसमेत बन्नुभएको थियो । उहाँले झापा आन्दोलनमा पनि सक्रिय भएर आफ्नो भूमिका निर्वाह गरेको बताउनु हुन्छ । उहाँलाई २०३३ वैशाखमा राष्ट्र विप्लवको मुद्दामा १० वर्ष जेल र १० हजार जरिवाना तोकिएको थियो । पाण्डेसँग २०३६, २०३८ र २०४२ सालमा शिक्षक आन्दोलनको नेतृत्व गरेको अनुभव छ ।