चितवन, कात्तिक ७ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत चितवनमा भइरहेको केन्द्रिय महाधिवेशन प्रतिनिधिको चुनावमा जिल्ला सभापतिका प्रत्यासी जगन्नाथ पौडेल पराजित हुनुभएको छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवारी दिएका जिल्ला सभापतिका प्रत्यासी पौडेल पराजित हुनुभएको हो । सभापतिको लागि प्रचारप्रसार गर्दै आएका पौडेलको जिल्ला सभापति बन्ने चाहना टुंगिएको छ ।
महाधिवेशन प्रतिनिधि बन्न एक क्षेत्रबाट खुल्लामा १० जना उम्मेदवार मात्रै निर्वाचित हुन सक्ने व्यवस्था छ । पौडेल त्यो १० उम्मेदवारभित्र पर्न नसकेको क्षेत्र नं २ का कांग्रेस महाधिवेशन निर्वाचन अधिकृत श्रीराम सापकोटाले बताउनु भयो । जिल्ला सभापतिमा पौडेलसहित आठ जनाले आकांक्षा देखाएका थिए । आकांक्षीहरुको सूचीबाट पौडेलको नाम हटेसँगै अब सात जना मात्र भएका छन् । पौडेल वरिष्ठ अभिवक्ता एवं पूर्व सांसद समेत हुनुहुन्छ ।
कांग्रेसले महाधिवेशनको घोषणा गरेसँगै जिल्ला सभापतिको लागि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो । चितवन जिल्ला अदालत बार एसोसिएसनका अध्यक्षसमेत बनिसकेका पौडेल बालकुमारी कलेज नारायणगढका स्थापनाकर्ताहरू मध्येका एक हुनुहुन्छ । उहाँ सोही क्याम्पसको सञ्चालक समितिका अध्यक्ष हुनुहुन्छ ।
२०४९–२०५३ मा तत्कालीन भरतपुर नगरपालिकाको उपमेयरमा निर्वाचित भएपछि जनप्रतिनिधिका रूपमा पनि काम गर्नुभएका पौडेलले राष्ट्रिय सभा सदस्य भएर पनि काम गरिसक्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्