जनता टाइम्स

१२ पुष २०७८, सोमबार ०९:१९

भीमफेदीको खहरे खोलामा झोलुङ्गे पुल


हेटौंडा, १२ पुस । मकवानपुरको भीमफेदी गाउँपालिका–५ स्थित खहरे खोलामा झोलुङ्गे निर्माण हुने भएको छ । रु ५१ लाखको लागतमा निर्माण हुने सो पुलको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम् लामाले आइतबार शिलान्यास गर्नुभयो । सङ्घीय सरकार र गाउँपालिकाको लगानी बन्ने सो पुलबाट भीमफेदीको दमार तथा सोलभ्ज्याङका बासिन्दालाई आवतजावतमा सजिलो हुने जनाइएको छ । एक सय १४ मिटर लम्बाइको पुल छ महिनाभित्र निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ ।

घरमै नागरिकता प्रदान

मकवानपुरको मनहरि गाउँपालिकाका मानसिकरुपमा अशक्त ३२ वर्षीया लिलावती गिरीलाई घरमा पुगेर नागरिकता वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीसहितको टोलीले सो गाउँपालिकाको वडा नं ९ स्थित ज्यामिरेमा पुगेर गिरीलाई नागरिकता प्रमाणपत्र दिनुभएको हो । सो अवसरमा प्रजिअ पाण्डेले अशक्त गिरीले सरकारबाट प्राप्त हुने सबै सुविधा पाउने बताउनुभयो ।