जनता टाइम्स

२० पुष २०७८, मंगलवार ०८:१७

एमाले सिन्धुलीको अधिवेशन, अध्यक्षमा को–को छन् आकांक्षी ?


सिन्धुली, २० पुस । नेकपा (एमाले) को नवौँ जिल्ला अधिवेशन २३ पुसमा तय भएपछि सिन्धुलीमा चुनावको सरगर्मी बढेको छ । नेतृत्वका लागि नेताहरु आन्तरिक तयारीमा जुटेका छन् । जिल्ला अध्यक्षमा विनोदकुमार खड्का, प्रदीप कटुवाल, केशवप्रसाद देवकोटा, कुमारबहादुर कार्की (रामकुमार) र कौशल कोइराला आकांक्षी छन् । खड्कासिन्धुली क्षेत्र नम्बर २ प्रदेशसभा ‘क’ बाट बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ ।

उहाँ नेतृत्व परिवर्तन र पुस्तान्तरणको नारा लिएर अघि बढ्नुभएको छ । कटुवाल यसअघि नै जिल्ला अध्यक्ष बनिसक्नुभएको छ । सिन्धुली क्षेत्र १ प्रदेशसभा ‘ख‘ मा बागमती प्रदेशसभा सदस्यमा निर्वाचित उनी २०७० मा एमाले को सातौँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका थिए । देवकोटा पनि पूर्वजिल्ला अध्यक्ष हुन् कार्कीसँग भूमि समस्या समाधान आयोग जिल्ला अध्यक्षको अनुभव छ । कोइराला सातौँ जिल्ला अधिवेशनमा अध्यक्षमा पराजित भएका थिए ।

७८ वडामा प्रतिनिधि छनोट

अधिवेशनका लागि सिन्धुलीका ७८ वडाबाट प्रतिनिधि छनोट भएका छन् । जिल्लाको ७९ वडामध्ये ७८ वडाबाट प्रतिनिधि छनोट भइसकेको कमलामाई नगर कमिटी इन्चार्ज महेन्द्रदेव श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुधौली नगरपालिका २ मा भने प्रतिनिधि छनोट हुन बाँकी छ ।

तिनपाटन गाउँपालिकाबाट ७९, हरिहरपुरगढीबाट ४३, गोलन्जोरबाट ४७, फिक्कलबाट ३८, सुनकोशीबाट ६२, घ्याङ्लेखबाट २२ र मरिणबाट ३७ प्रतिनिधि चयन भएका छन् ।

त्यस्तै, कमलामाई नगरपालिका र दुधौलीबाट १४३­(१४३ जना र २१ वटा जनसंगठनबाट १ सय ५९ प्रतिनिधि छनोट भएको श्रेष्ठले बताउनुभयो । वडाबाट छुट भएका तथा समेट्न नसकिएका पाँच प्रतिशत प्रतिनिधि जिल्लाले मनोनयन गर्नेछ । अधिवेशनमा ९ सय ६ प्रतिनिधि सहभागी हुने छन् ।