सिन्धुपाल्चोक, १९ फागुन । नेपाली कांग्रेसका नेता एवम् बाह्रबिसे नगरपालिका–२ का वडाअध्यक्ष बमबहादुर तामाङले एमाले प्रवेश गर्ने तयारी गर्नुभएको छ । उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेस छाड्नुभएको जनाउनुभएको छ । उहाँले कांग्रेस परित्याग गरेको घोषणा गरेसँगै उहाँसहितका कांग्रेसका नेताहरू एमालेमा प्रवेश गर्ने तयारीमा हुनुहुन्छ । २०४६ सालदेखि कांग्रेसको क्रियाशील सदस्य रहेर कांग्रेसमा आबद्ध हुनुभएको तामाङले पार्टीभित्र ‘पेलानको राजनीतिक’ सुरु भएपछि कांग्रेस छाडेको विज्ञप्तिमा भन्नुभएको छ ।
‘केही वर्षदेखि नेपाली कांग्रेसमा विशेष गरी सिन्धुपाल्चोकमा व्यक्तिवादी सोच हाबी हुँदै गएको छ । पार्टीले आम जनचाहाना विपरीत एमसीसी पास गर्ने, आम कार्यकर्ताहरुले भनेको कुनै पनि कुराको सुनुवाई नगर्ने, पेलेर लैजान खोज्ने, विधि विधान भन्दा व्यक्तिबादी सोच बढी हाबी हुने जस्ता गतिविधिले हामी आम कांग्रेस कार्यकर्ताहरु निराश भएका छौं’, अध्यक्ष तामाङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
माओवादी द्वन्द्वकालमा आफू अविचलित रहँदा गोली हानेर घाइते बनाए पनि अहिले कांग्रेसका नेताहरूले आफूहरूलाई पेलेको उहाँको आरोप छ । स्थानीय निर्वाचनमा विजय भएर कांग्रेसको नीति सिद्दान्त अनुसार दिनरात नभनी काम गरेपनि पार्टीका नेताहरुले कहिले पनि जस नदिने, सार्वजनिक स्थानमा समेत अपमान गर्ने क्रियाकलप निरन्तर भइरहेको तामाङले बताउनुभयो । उहाँले भन्नुभयो,‘एउटा लोकतान्त्रिक पार्टी भित्र काम गर्दा गर्दे पनि सधै अपमानित भएर बस्न मलाई मेरो नैतिकताले दिएन,त्यसैले कांग्रेस पार्टी छाडेको छु ।’














प्रतिक्रिया दिनुहोस्