ललितपुर, बैशाख १७ । नेपाल कम्युनिष्ट पार्टी एमाले ललितपुर महानगरपालिका मेयर , उपमेयर , वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारहरूले उल्लासका साथ घरदैलो अभियान शुरु गर्नु भएको छ । महानगरलाई लालकिल्ला बनाउने योजनाका साथ उम्मेदवारहरू चुनावी घरदैलो शुरु गर्नु भएको हो ।
‘सूर्यमा छाप, झ्याप झ्याप’ भन्ने नारासहित शुक्रबारबाट नगरवासीको घरदैलोमा मत माग्न हिड्न थालेका एमालेका उम्मेदबारसहितका नेता कार्यकर्ताले जनताको हितमा काम गर्ने एकमात्र पार्टी एमाले रहेको वताएका छन् । घरदैलो अभियान वडा नं ७ र ८ च्यासलबाट शुरु गरिएको मेयर पदका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले बताउनुभयो ।
‘यस पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । हाम्रो पार्टी विजय भएपश्चात यस स्थानको मुहारै फेरिदिने छौँ । भर्खरै मुलुकमा न्यूनीकरण हुँदै गइरहेको कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ,’ ब्यञ्जनकारले भन्नुभयो । कला र संस्कृतिले भरिपूर्ण सो महानगरपालिकामा विभिन्न सम्भावना खोजी गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्य समेत आफूहरूले बोकेको उहाँको धारणा थियो ।
यसैगरी उप मेयरका उम्मेदवार मञ्जली शाक्य (आस्था) ले महानगरवासीको हक अधिकार सुनिश्चित गर्न आफू आसन्न निर्वाचनमा प्रतिस्पर्धामा उत्रेको वताउनुभयो । उहाँले भन्नुभयो ‘हाम्रो सरकार आएमा कसैले पनि भोकै र नाङ्गै हुनुपर्ने छैन । समाजमा शिक्षा, स्वास्थ्य, खानपान, रोजगार आदिको व्यवस्था अब एमालेको सरकारले नै गर्ने छ ।’
यसपटक महानगरवासीले एमाले नै चाहेको हुँदा आफूहरूले राम्रो मतान्तरमा विजय प्राप्त हुने अपेक्षासमेत गरिरहेको शाक्यले वताउनुभयो । घरदैलो अभियानमा थुप्रै महिला तथा युवा र केही ज्येष्ठ नागरिकको सहभागिता थियो । नगरवासीले उम्मेदवारलाई सगुन र फूलमालाले स्वागत गरेका थिए । अधिकांश स्थानीयवासीले यस स्थानीय निर्वाचनमा एमालेलाई शानदार रूपमा विजयी गराउने प्रतिवद्धता दर्साएका थिए ।













प्रतिक्रिया दिनुहोस्