जनता टाइम्स

८ श्रावण २०७९, आईतवार १५:२३

सडक छेउको रुख ढलेर किच्दा तीन जनाको मृत्यु, दर्जनभन्दा बढी घाइते


भक्तपुर, ८ साउन । भक्तपुरको सल्लाघारीमा सडक छेउको रूख ढलेर सवारीसाधनलाई किच्दा तीन जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेको एउटा यात्रुबाहक मिनीबस र स्कुटरमाथि बज्रिदा तीन जनाको मृत्यु भएको हो भने एक दर्जनभन्दा बढी घाइते भएका छन् । रुख ढलेर सडकमा गुडिरहेको यात्रुबाहक बसमा पर्दा गाडीमा रहेका दुई जनाको मृत्यु भएको हो भने स्कुटरलाई थिच्दा स्कुटरमा सवार एक जनाको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी कार्यालय सल्लाघारी भक्तपुरका प्रमुख राजु कार्कीले घटनामा परेर तीन जनाको मृत्यु र एक दर्जनभन्दा बढी घाइते भएको बताउनुभयो । उहाँका अनुसार मृतक र घाइतेहरूको नाम आउन बाँंकी नै छ ।

काठमाडौंबाट भक्तपुर आइरहेको बा२ख ३५८४ नम्बरको मिनीबस र बा ६१ प ३९७८ को स्कुटरलाई ढलेको रुखले किचेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाडीमा सबै गरेर दुई दर्जनको संख्यामा यात्रुहरु थिए । पछाडिको भागमा किचिएकाले गाडीका चालक र सहचालक भने सकुशल रहेका जनाउनुभयो । घटनाबारे विस्तृत विवरण आउन बाँंकी नै छ । घटना आज दिउँंसो १२ बजेतिर भएको हो ।