काठमाडौं, कात्तिक १४ । धार्मिक नगरी शंखरापुर नगरपालिकाको साँखुबजार पुग्दा कुन्तीदेवी पोख्रेलका सहयोगीहरु स्थानीयका घरदैलोबीच चुनावी अभियानमा जुटिरहेका देखिन्थे ।
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कुन्ती पोख्रेल ‘हलो’ चिन्ह देखाउँदै स्थानीयसँग भोट मागिरहनु भएको थियो । समाजसेवामार्फत नेपाली महिलाको क्षेत्रमा लामो समय योगदान गर्दै आउनु भएकी पोख्रेल पटक–पटक चुनाव जितेर काम नगर्ने र क्षेत्र परिवर्तन गर्दै हिंड्ने उम्मेदवारलाई बिदाइ गर्ने भन्दै चुनावी मैदानमा उत्रिनु भएको छ ।
चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेतालाई विस्थापित गर्नुपर्ने दावीसहित मतदाताबीच पुग्नुभएकी पोख्रेलले यसपटक आफूलाई सेवा गर्ने मौका दिन आग्रह गरिरहनु भएको थियो ।
निर्वाचन क्षेत्र परिवर्तन गर्दै चुनाव जितेर सत्तामा पुगेकाहरुको ढंग हेरियो, उनीहरुले यस क्षेत्रमा जनताको चाहना अनुसार काम गर्न सकेनन् । अब मत परिवर्तन गरौं, नयाँ पुस्तालाई एक पटक मौका दिएर हेरौं भन्ने आममतदाताको मनसाय मैले बुझेकी छु’, पोख्रेलले भन्नुभयो ।
आफूले जिते पनि हारे पनि यस क्षेत्रको विकास निर्माण र जनताको सुखदुःखमा सधैं हातेमालो गरिरहने उहाँले बताउनु भयो । ‘राजनीति भनेको पेशा होइन, समाजसेवा हो । समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर सक्रिय रहने छु,’ पोख्रेलले भन्नुभयो ।
‘राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति निरतर आवाज उठाइरहनेछु । युवा पुस्ताको प्रतिनिधित्वको लागि लडिरहने छु । देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्ट्रघातविरुद्ध सडकदेखि सदनसम्म आवाज उठान लागिपर्ने छु,’ पोख्रेलले भन्नुभयो । चुनावका बेला मीठामीठा सपना देखाउने जितिकेपछि बिर्सिने प्रवृत्तिले यो क्षेत्र ओझेलमा परेको स्मरण गर्दै नागरिकहरुले सचेत भएर मतदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘पहिलाको तुलनामा अहिले मतदाता सचेत हुनुहुन्छ, भोट दिँदा विवेक प्रयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै पोख्रेलले भन्नुभयो, ‘सत्ताको आडमा आउने उम्मेदवारले जति प्रभावित पार्न खोजे पनि जनताले विवेक प्रयोग गर्नेछन् भन्नेमा ढुक्क छु ।’ उहाँले यस क्षेत्रको दीगो विकास र युवा पुस्ताको भविष्यको निम्ति आफू राजनीतिमा आएको बताउनु भयो ।
‘राजनीतिमा त्याग, इमानदारिता र सेवाभाव हुनुपर्छ, त्यो म गरेर देखाउने छु । यो देशको राजनीतिक वितृष्णाले युवा पुस्ताको आशा मारिसकेको छ, त्यसरी आशा मरेर विदेसिन वाध्य युवा शक्तिलाई स्वदेशमै स्वरोजगारयुक्त र उद्यमी बनाउन म राजनीतिमा आएकी हुँ,’ पोख्रेलले भन्नुभयो ।
कुन्तीको यो अभियानले रोल्पाबाट काठमाडौं २ मा आउनु भएकै पाहुना उम्मेदवार ओनसरी धर्तीलाई ठूलै धक्का लागेको छ । काठमाडौं २ मा नेकपा एमालेबाट मणिराम फूयाल प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । भने ओनसरी माओवादीबाट उम्मेदवार बन्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्