जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १४:०३

निर्वाचनपछि सत्ता गठबन्धन भत्किन्छ : टोपबहादुर रायमाझी


अर्घाखाँची, कात्तिक २१ । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीले निर्वाचनपछि सत्ता गठबन्धन टुक्रा टुक्रा भएर भत्किने बताउनु भएको छ । आज सन्धिखर्कमा पत्रकारहरूसँग कुराकानी गर्दै सचिव रायमाझीले शक्ति सन्तुलनमा समस्या भएर गठबन्धन विभाजन हुने बताउनु भयो ।

‘एउटा पार्टीलाई मिलाउन त कति समस्या छ’ रायमाझीले भन्नुभयो, ‘गठबन्धन पछि फुट्छ । गठबन्धनभित्रका दलहरु पनि विभाजन हुन्छ । देश ध्रुवीकरणमा जान्छ । त्यसपछि देश टु पार्टी सिस्टममा जान्छ ।’ गठबन्धन मात्र नभई गठबन्धनभित्रका दलहरुमा पनि आन्तरिक विभाजन आउने ठोकुवासमेत रायमाझीले गर्नुभयो ।

रायमाझीले गठबन्धन अहिले एजेण्डाविहीन भएको बताउनु भयो । ‘कांग्रेस र कम्युनिष्ट छुट्याउन गाह्रो छ । अहिलेको गठबन्धन लेदो र खुदो मिसाए जस्तो छ । कांग्रेस ‘ककटेल’ जस्तो भएको छ,’ रायमाझीले भन्नुभयो ।

सत्तामा बसेका दलले प्रतिपक्षलाई हराउन गठबन्धन विश्वमा कहीँ नहुने बताउँदै चुनावमा एमालेले बहुमत ल्याएर सरकार बनाउने नेता रायमाझीको भनाइ छ । गठबन्धन केही एजेण्डा नभएको रायमाझीले बताउनु भयो । उहाँले अर्घाखाँचीमा भारी मतका साथ एमालेले प्रतिनिधिसमा र प्रदेशसभाको निर्वाचनमा जित निकाल्ने बताउनु भयो ।

आफूले जिल्लामा समृद्ध अर्घाखाँचीको विकास गर्न ठूलो काम गरेको बताउँदै आफूले जिल्लामा १२ अर्बको विकास आयोजनाको काम गरेको बताउनु भयो ।