जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार ०९:४०

सत्ताको आडमा एकपछि अर्को आचारसंहिता उल्लंघनमा सत्ता गठबन्धन


दोलखा कार्तिक २५ । दोलखामा सत्ता गठबन्धनले सत्ताको आडमा एकपछि अर्को आचारसंहिता उल्लंघन गर्दै आएको छ । निर्वाचन आचारसंहिताले बन्देज गरेको काममा जनप्रतिनिधीहरु संलग्न रहेको पाइएको छ ।

शैलुङ गाउँपालिकाका अध्यक्ष रिमलबाबु श्रेष्ठ सत्ता गठबन्धनको चुनावी प्रचारप्रसारमा संलग्न भएको घटना सेलाउन नपाउँदै अर्का जनप्रतिनिधी समेत चुनावी प्रचारप्रसारमा संलग्न भएको पाइएको छ ।

जिरी नपा वडा नं. २ का वडा अध्यक्ष निमपल्दे शेर्पा निर्वाचन आयाेगकाे आचार संहिताकाे धज्जी उडाउदै निर्वाध रूपमा आफ्नाे वडाभित्र गठबन्धनका उमेदवारहरूलाई मत माग्ने कार्यमा सक्रिय भएर लागेका छन् । उनले सत्यता गठबन्धनलाई मत मागिरहेको भिडियो अहिले सामाजिक सञ्जाल फेसबुकमा शेयर भइरहेको छ ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचार संहिताको पहिलो संशोधन २०७९ को दफा ४ को खण्ड क को ४ मा स्थानीय कार्यपालिका पदाधिकारी आफु बहाल रहेको स्थानी तह बाहेक अन्य स्थानीय तहमा मात्र निर्वाचन प्रचारमा संलग्न हुन सक्ने भन्ने उल्लेख छ । तर श्रेष्ठले त्यसको उल्लंघन गर्दै आफु बहाल रहेकै स्थानीय तहमा चुनावी प्रचारमा संलग्न भएका हुन् ।