जनता टाइम्स

११ श्रावण २०८०, बिहीबार २१:५६

एमालेको रिसले छाती पोल्दैमा सबै सदर नहुँदो रहेछ नी !


— यसिमा महत

अन्ततः कोशी सरकारबाट गठबन्धनलाई सर्वोच्च अदालतले भुईँमा पछारेको छ । अदालतको आदेश अनपेक्षित थिएन र हुन सक्दैनथ्यो । किनभने दलको सदस्यता त्यागेका र तटस्थ रहन्छु भनेर कसम खाएका व्यत्तिले पक्षधरता देखाउँदै हस्ताक्षर गरेका थिए । अब सभामुखले उक्त पदमा रहने नैतिकता गुमाएका छन् भने अर्कोतिर गठबन्धनको सरकार नबन्ने निश्चितजस्तै भएको छ ।

अदालतको यो आदेशबाट संविधान र कानुन आफू मिच्ने दोष एमाले लगाउने गठबन्धनको बठ्याईले बल्ड्याङ खाएको छ । हामी छौं र संविधान बाँचेको छ भनेर कोकोहोलो मच्चाइरहेका (कांग्रेस, माओवादी र एसपार्टी) गठबन्धनको अनुहार उदाङ्गिएको छ । जहिले पनि संविधान र कानुनमाथि खेलवाड आफू गर्ने दोष एमालेलाई लगाउन पल्केका ढाडेँहरूले पहिलो पटक घोक्रेठ्याक खाएका छन् । आजभन्दा अघि सधैं उनीहरू जित्दै आएका थिए।

कोशी सरकारमा गठबन्धनको अर्घेल्याईँ बाहेक केही थिएन । त्यो अर्घेल्याई पनि के कारणले भन्दा एमाले सरकारमा गएको उसकै नेतृत्वमा नामाकरण भएको र अब अझै यस्तो के-के गर्ने हो भन्ने डर, इश्र्या र डाह मात्रले मात्र काम गरेको थियो ।

४७ सदस्य भए बहुमत पुग्ने प्रदेशसभामा एमाले एक्लै ४० थियो । निर्वाचनमा गठबन्धन पनि तिनै दलको थियो । निर्वाचनका समय संघ र प्रदेश सरकारको नेतृत्व पनि तिनैको हातमा थियो । त्यति गर्दा पनि हराउन नसकेको एमालेलाई झन सरकार पाँचै वर्ष चलाउन दिए के हालत होला भन्ने अरुभन्दा पनि काँग्रेसलाई चिन्ता ।

संघमा गठबन्धनले मागेकोभन्दा बढी दिने, समय रहुञ्जेल सुनुवाई नगरेर माधव नेपालमाथिको मुद्दा त्यसै ढिसमिस गराइदिने सर्वोच्च अदालतका कारण मनोबल उच्च भएकै कारण यस पटक कोशीमा उनीहरूले जगहसाईको बलमिच्याई देखाउने आँट गरेको हुनसक्छ । तर, समय सधैं एकनास कहाँ हॅुदो रहेछ र ? अदालतले फोटो पनि टास्न नपाउने गरी घोक्रेठ्याक लगाउँदा सर्लक्क छाड्नुको सट्टा मुख्यमन्त्रीको पद घृतराष्ट्रको मुकुट प्रेमजस्तो देखाइरहेका छन् ।

कम्युनिष्टको सरकार भत्काएर काँग्रेसमाशरण लिन जाँदाको फल माधव नेपालको पार्टीले भोग्दैछ । मुखले ‘पारी पाखा श्याल करायो म खाट मुनी लुके तर डराईन’ भनेजस्तो गरेर बेला–बेला डुक्रे पनि दिनदिनै हरेश खाएको खिन्नता माधव नेपालको बडिल्याङवेजमा देख्न सकिन्छ ।

कोशी सरकारमा अझै मोह राखेर गठबन्धनले ल्याङल्याङ गरे उनीहरूको सक्किनुको विकल्प छैन । कोशीमा एमालेलाई केही गरे नसक्किने भो ! भनेर मुख्यमन्त्रीको मोह त्यागे अलिकति कतै लाज रहेछ भने त्यो छोपिएरै रहला नत्र आङमा केही रहने छैन भन्ने गठबन्धनले बुझ्न जरुरी छ ।