जनता टाइम्स

७ फाल्गुन २०८०, सोमबार १४:०२

कसैलाई निषेध गरेर दिगो शान्ति र स्थायित्व हुन सक्दैन : कमल थापा


काठमाडौं, ७ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कसैलाई निषेध गरेर स्थायी शान्ति र स्थायित्व हुन नसक्ने दाबी गर्दै राज्यशक्तिको दुरुपयोग गरेर केही समय राजनैतिक बिचार निषेध गरे पनि सधैँ निषेधित र समाप्त नहुने बताउनुभएको छ । आज पार्टीद्वारा काठमाडौंमा आयोजित ‘त्रिभुवन जयन्ती ,प्रजातन्त्र दिवस तथा पार्टीको वार्षिकोत्सव’ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्ट ब्यबस्था र तस्करतन्त्रमा रुपान्तरण भएको समेत टिप्पणी गर्नुभयो ।

देशमा बामपन्थी बिचारको बर्चस्व र हाबी भएको भन्दै विश्वभर असफल भएको ब्यबस्था नेपालमा लाद्न खोजिनु दुर्भाग्यपूर्ण भएको भन्दै थापाले जनताको अभिमत बिना गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता लादिएको भन्दै आलोचना गर्नुभयो । अरबौ खर्च गरेर योजनाबद्ध रुपमा नेपाली धर्म संस्कृती नष्ट गरेकोमा आपत्ति प्रकट गर्दै थापाले बिकृत मान्यता र दर्शन बोकेर देश बिकास हुन नसक्ने बताउनुभयो ।

देश बैचारिक र संरचनागत त्रुटिको दलदलमा भासिएको भन्दै थापाले कुनै पनि सरकारले पुर्ण कार्यकाल काम गर्न नसकेको बताउनुभयो । २०८४ को चुनाव अगावै हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलन गर्नुपर्नेमा जोड दिदै थापाले बिचार मिल्नेहरु सबैले मोर्चा निर्माण गरि अगाडि बढ्नु पर्ने आवश्यकता समेत औँल्याउनुभयो ।

बैकल्पिक बिचार र शक्ति निर्माण गर्न राप्रपा नेपाल बलियो हुनुपर्ने तर्क गर्दै थापाले सम्पुर्ण नेता कार्यकर्ताहरुलाई संगठन केन्द्रित हुनु आग्रह गर्नुभयो । कार्यक्रममा नेताहरु बिष्णु भट्टराई, राजाराम बर्तौला, माधव खत्री, हिक्मतजङ्ग भण्डारी, सुनिता कुरुङ्वाङ, श्याम घिमिरेलगायतले आफ्नो वक्तव्य राख्नुभएको थियो ।