रौतहट, २१ जेठ । रौतहट प्रहरीको गरीब(विपन्नको घर बनाउने भन्दै लाखौंलाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । विपन्न दलित तथा गरीबलाई आवास बनाउने नाममा लाखौं ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय माधवनारायण नगरपालिका–८ रजावाडा गाउँका गरीबलाई मधेश प्रदेश सहरी विकास मन्त्रालयले आवास बनाउने कार्यादेश आएको छ, १० देखि ४० हजारसम्म खर्च लाग्छ भनेर सयौं मानिसलाई ठगी गर्ने ६ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको हो ।
पक्राउ पर्नेमा माधवनारायण–७ लौकाहाका ५२ वर्षीय रामनाथ माझी, प्रकाश माझी, गरुडा नगरपालिका–६ का ४० वर्षीय राकेश महरा, ९ नम्बर वडाका का २५ वर्षीय सिकिन्दर ठाकुर, ४५ की रामकली देवी, वडा नम्बर ५ का ७१ वर्षीय मुङलाल महरा रहेको जिल्ला प्रहरी प्रवक्ता डिएसी एलिजा गिरीले बताउनुभयो । उनीहरूमाथि ठगी सम्बन्धी मुद्दा दायर गरी अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिनुभयो । गिरोहले बागमती किनारमा रहेको रजावाडा गाँउका एक सय भन्दा बढी सोझा परिवारको घर बनाउने योजना देखाएर ५०औं लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता तथा डिएस्पी गिरीले जानकारी दिनुभयो ।
यसैबीच, सता पक्षका एक जना कथित ठूला नेताले आरोपीलाई छोड्न रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई आइतबार दवाब दिनुभएको थियो । तर एसपी घिमिरे भने आफ्नो अडान अथवा न्यायको पक्षबाट हट्नुभएन । पीडितको पक्षमा खुलेरै जवाफ दिनुभएको थियो । उहाँले कथित ठूला नेतालाई भन्नुभएको थियो,‘तपाईंले जिल्ला प्रहरी कार्यालयमा आएर पीडितको पैसा तिर्ने कागज गरेपछि मात्रै आरोपीलाई छोड्छु ।’ त्यसपछि ती नेताले हरेश खाएका थिए । एसपी घिमिरेको यो कदमको जिल्ला बासीले खुलेरै सराहना गरेका छन् । रौतहट प्रहरी प्रमुखको रूपमा एसपी घिमिरे आएदेखि जिल्लामा आपराधिक क्रियाकलाप, चोरी तस्करी, तुलनात्मक रूपमा काम हुनुका साथै विभिन्न सामाजिक विकृति विसङ्गतिविरुद्ध पनि विभिन्न किसिमका कार्यक्रमहरू सञ्चालन हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्