जनता टाइम्स

६ कार्तिक २०८१, मंगलवार १५:४२

ग्रामीण बस्तीमा कालोपत्र सडक


नेपालगन्ज, ६ कात्तिक । बाँकेको जानकी गाउँपालिका र खजुरा गाउँपालिकाका भित्री सडक कालोपत्र भएपछि ग्रामीण क्षेत्रका बस्ती सुगम भएका छन् । जानकी गाउँपालिका–२ बेलभारदेखि वडा नं १ को शिवपुरीलगायत ग्रामीण क्षेत्र र खजुरा गाउँपालिका–१ जलपोखरी, सैनिक टोललगायत ग्रामीण भेगका बस्तीमा सडक कालोपत्र भएपछि आवागमन सहज भएको हो । सडक पूर्वाधार कार्यालय र स्थानीय सरकारको साझेदारीमा पक्की सडक निर्माण भएको हो ।

गाउँपालिकाका ग्रामीण बस्ती कालोपत्र सडकका कारण नेपालगञ्ज बजारसँग प्रत्यक्ष जोडिदा स्थानीयले लाभ लिइरहेका जानकी गाउँपालिका–२ का वडासदस्य अमरबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘सडक कालोपत्र नहुँदा धेरै दुःख थियो अहिले आवतजावत गर्न सजिलो भएको छ ।’

वडासदस्य थापाले सडकका कारण स्थानीय बजारको समेत प्रवद्र्धन भएको उल्लेख गर्दै अहिले कालोपत्र भएपछि नेपालगञ्ज पुग्न लामो समय नलाग्ने बताउनुभयो । सडकको सञ्जाल जताततै भएकाले जानकी वा खजुरा जहाँबाट पनि नेपालगञ्ज आउन सहज भएको जानकारी दिँदै वडासदस्य थापाले अन्य ग्रामीण भेगका सडक पनि कालोपत्र गर्न आवश्यक भएको बताउनुभयो ।

बेलभारदेखि शिवपुरीसम्म तीन किलोमिटर र शिवपुरीदेखि नेपालगन्ज १० किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ । खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली क्षेत्रीले गाउँपालिका–१, २ र ३ का ग्रामीण भेगमा सबै भन्दाबढी पक्की सडक निर्माण भएको जानकारी दिँदै ती सबै क्षेत्रमा करिब ५७ किलोमिटर सडक निर्माण भएको बताउनुभयो । हाल क्रमागत योजनाका सडक निर्माण भइरहेको उल्लेख गर्दै उहाँले गौघाट—परस्पुर सडक भने अधुरै रहेको गर्नुभयो ।