जनता टाइम्स

३ जेष्ठ २०७८, सोमबार १७:४५

सम्झनामा सधैँ बाँच्नुभएका जननेता मदन



सन्दर्भ : मदन–आश्रित स्मृति

हामी यसै पनि भेट्न लालयित थियौं । भेटघाट भयो । मनभरि उब्जेका कतिपय प्रश्नहरु राख्न नपाउँदै तपाईंहरु यसो भन्न चाहनुहुन्छ होला भन्दै सरासर जिज्ञासा मेटाउन माहिर उहाँभित्रको त्यो विलक्षण प्रतिभाले मलाई जागिर छाडेर राजनीतिमा लाग्ने कि ! भन्ने समेत बनायो । नेतृत्वसँग यो कुरा राखें । हामी प्रवास आएको जागिरकै लागि हो, भएको जागिर छाडेर राजनीतिमा होमिने होइन, यहिंबीचमा समय निकालेर देश र जनताका लागि काम गर्ने हो भनेर उहाँले सल्लाह दिनुभएको बुझेंपछि जागिरको क्षेत्रमा पनि उम्दा गतिका साथ काम गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो मलाई उहाँबाट

रामप्रसाद पराजुली (दिल्ली भारत)

हाम्रो जीवनकालमा धेरै मानिसहरुसित सम्बन्ध हुन्छ, भेटघाट हुन्छ र समयअनुरुप वार्तालाप हुन्छ तर केही मानिसहरुसितको भेटघाट र सम्बन्ध आदि अबिस्मरणीय हुन्छ । योचाहिँ सधैँभरि मनमा रहिरहन्छ । त्यो भेटघाट र सम्बन्धले अलिक परसम्म मन तानिरहेको हुन्छ । बिचारसम्मत् भेटघाट र यसबाट स्थापित सम्बन्ध हो भने यसले मृत्युपर्यन्त एकोहोराइ रहँदोरहेछ । यस्तै–यस्तै भएको मलाई कैयौंपटक । यसमध्येको महत्त्वपूर्ण भेटघाट हो– जननेता मदनकुमार भण्डारीको पहिलो प्रत्यक्ष भेटघाटको ।

नेपालमा २०४६ सालको राजनीतिक परिवर्तनपछि तत्कालीन नेकपा (माले) र नेकपा (माक्सवादी) को बिचमा भएको ऐतिहासिक एकिकरणपश्चात भारत प्रवासको पार्टी संगठन र यसको संगठनात्मक कामलाई एकिकृत गर्न कमरेड जीवराज आश्रित र कमरेड बलराम उपाध्याय आउनुभएको थियो । आफ्नो जीवनकालमा यो नै उहाँहरुसँगको मेरो पहिलो र अन्तिम बसाई ठहरियो । यो पक्ष पनि मलाई सधैँभरि सम्झनामा आइरहन्छ । उहाँसित बसेका र बिताएका अबिस्मरणीय पलहरू आफैंमा धेरै प्रेरणाप्रदायी र उर्बरक छन् । आफू पार्टीसम्बद्ध भारत प्रवासको कामको अगुवा ठाउँ थलोको अगुवामध्ये एकजना कार्यकर्ता भएकोले पनि पार्टीको शीर्षस्थ नेतृत्वसँग समय–समयमा भेटघाट भइरहन्थ्यो ।

पार्टीको कामको एउटा अत्यन्तै महत्त्वपूर्ण थलो समेत भारत प्रवास भएकोले पार्टीको शीर्षस्थ नेतृत्वको सघन आवागमन, पूर्णकालीन नेतृत्व कार्यकर्ता आधारित हुने हुनाले हामीसँगको सघन उठबस र विभिन्न विषयगत राजनीतिक मुद्धामा आधारित घरबास–प्रवास अनिवार्य थियो । यहिक्रममा पार्टी नेताका हैसियतले दिल्ली आउनुभएका कमरेड मदनकुमार भण्डारीसित मेरो दुइपटक भेट हुने अवसर मिल्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि यसको राजनीतिक–बैचारिक सन्देश र अबको राजनीतिक एवं रणनीतिक कार्यदिशाबारे प्रवासी नेपाली समुदायमाझ प्रशिक्षणात्मक अभियान चलाउन उहाँ राजधानी दिल्ली आउनुभएको थियो । सुभास उपनाउँले परिचित सि पी मैनाली र उहाँसँग कमरेड मदनकुमार भण्डारी हुनुहुँदो रहेछ, निकै पछिमात्र थाहा लाग्यो । रेल्वे मार्ग हुँदै दिल्ली आइपुग्नुभएका उहाँहरु नयाँ दिल्लीको ग्रेटर कैलाशमा बसोबास गर्नुहुने साथी पिताम्बर पोखरेलको डेरामा अबेर साँझपख, झण्डै राती आउनुभएको रहेछ । साथी पिताम्बरको खबरपछि म अर्को दिन बिहान उहाँको डेरामा पुगे ।

कमरेड सीपी मैनालीलाई म चिन्थे तर सुभासको नाउँले । उहाँसँगै रहनुभएका अर्का हेर्दैखेरी फरासिला मिजासका देखिनुहुने व्यक्तित्वलाई चिनिनँ त्यो बेला । राजनीतिक नेतृत्वसँग समकक्षी अर्को कुनै नेतृत्व नै होला भन्ने सहजै अनुमान थियो मलाई त्यो बेला पनि । मनमा कौतुहलता र असजिलो लागिरहेको थियो– कसरी चिनजान बढाउने होला ! मुसुक्क मीठो मुस्कानसहित उहाँले हात बढाउँदै हामीतिर नजिकिनुभयो । खाइलाग्दो ज्यान, जिउँढाल परेको, अग्लो मानिस तर कति स्नेहपूर्ण व्यवहार– हामीसँग हात मिलाउन सर्लक्कै तयार हुनुभयो, मनमा त्यहिंबेला जिज्ञासा उठ्यो ।

भूमिगतकाल, नेता र कार्यकर्ताबीचको आदररार्थी दूरीगत सम्बन्ध, सबै कुरा सोधिएन, उहाँले पनि परिचयको क्रममा भन्नुभएन । त्यो समयमा आजजस्तो खुलेर परिचय गर्ने कुरै हुन्थ्यो । अनुशासनको फलामे डण्डालाई हामी प्रवासी संगठकहरु आफ्नो श्रमबजारको कठिन परिश्रमकै रुपमा पालना गर्दथियौं । सँगसँगै चिया पिएर म आफ्ना काममा फर्किएँ । अर्को दिन बिहानै नवभारत टाइम्समा एउटा अन्तरवार्ता प्रकाशित भयो उहाँको । अनि पो थाहा भयो– हिजो भेट हुनुभएको व्यक्ति त समसामयिक विषयमा गहकिलो बिचार दिने नेकपा (माले) का प्रवक्ता रहनुहुँदो रहेछ भनेर । यतिबेला म झस्याँङ्ग भए । हर्षले विभोर भएँ । जीवनमा एकैपटक धेरै खुशी र हर्षविभोर भएको दिन शायद त्यहीं होला जस्तो लाग्छ अहिले पनि मलाई ।

२०४७ साल कात्र्तिक २३ गते देशले शक्ति सन्तुलनमा आधारित संविधान पाएपछि उहाँ खुल्ला कार्यक्रमहरुमा देखिन थाल्नुभयो । पहिलोपटक काठमाण्डौंको विशाल जनमानसलाई गर्नुभएको सम्बोधनको अडियो पिताम्बरजीको डेरामात्र थियो । हामी समयसमयमा यसलाई सुन्ने गर्दथियौं । यसले हर्दम प्रेरणा र उर्जा प्रवाह गर्दथ्यो । दिल्ली राज्यको नेता कमरेड जीवनारायण कोइराला, रामसिंह भट्टराई, पिताम्बर पोखरेललगायत साथीहरुले फलानो दिन तपाईंले भेटघाट गर्नुभएको राजनेताको भाषण हो यो भनिरहँदा म जिल्ल पर्दथे । वास्तवमा आज पनि मलाई त्यो पहिलो भेटघाट र उहाँको पहिलो सार्वजनिक जनसमारोहको भाषणले राजनीतिक–सामाजिक काममा तरंग दिइरहेको हुन्छ, एकखालको रक्तसञ्चार प्रवाह गरेको हुन्छ र कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने व्यक्तित्वमा हुनुपर्ने गुणका रुपमा उसको फरासिलो र मिजासिलो स्वभाव, सदाचार, अध्ययन, चिन्तन, लगन, इमान, निष्ठा, जाँगरको कसीमा उभिएर मलाई पथभ्रष्ट हुनबाट बचाइरहेको हुन्छ ।

संविधान जारी भएलगत्तै यसमाथि आलोचनात्मक समर्थन सहितका २७ वटा बुँदागत असहमतिहरु राखेपछि राजनीतिक शिखरमा ह्वात्तै उक्लनुभएका महासचित मदनकुमार भण्डारीसित मेरो दोस्रो र अन्तिम भौतिक उपस्थिति सहितको भेटघाट भारतमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरुको संगठन अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियन (अभानेस्ववियु) ले दिल्ली विश्वविद्यालयको सभाकक्षमा आयोजना गरेको एउटा कार्यक्रममा भयो । महिनौंपहिल्यै पिताम्बरजीको डेरामा एकछिन भेटिनुभएका उहाँले यतिबेला पनि परैबाट चिन्नुभयो, मेरो नाम लिएरै बोलाउनुभयो । यसक्रममा सामान्य गफगाफ भयो, हालचाल सोध्नुभयो । सञ्चोबेसञ्चो सोधासोध भयो । यत्तिका दिनपछि पनि त्यो भेटघाट र भेटघाटका सबै सन्दर्भहरु सर्लक्कै सम्झन सक्ने कस्तो दिव्यगुण भएको मानिस होला ! म अचम्मित भएँ । यो तिक्ष्ण क्षमता देखेर म उहाँप्रति बसिभूत भएँ । उहाँकै भएँ ।

दिन बिर्सिएँ । सन् १९९२ को में महिना थियो । दिल्लीको गर्मी, बाहिर बसिसक्नु थिएन । मध्यान्हको ठीक १ बजे कार्यक्रम आरम्भ भयो । हामी सबै सभाकक्षमा प्रवेश लियौं । यो कार्यक्रमको प्रमुख अतिथि मदनकुमार भण्डारी हुनुहुन्थ्यो । अन्तरक्रियामा आधारित दुई दिने यो कार्यक्रम आफैंमा राजनीतिक बैचारिक हिसावले निकै ओजपूर्ण थियो । अहिलेजस्तो प्रविधि पहुँच र प्राविधिक कुराको सर्वव्यापकता हुन्थ्यो भने कार्यक्रम अद्योपरान्त रोकर्डिङ गरिन्थ्यो होला ! यो सबै त्यो बेला सम्भव थिएन । ३० वर्षपहिलेका यी सन्दर्भहरु अहिले पनि एकाएक मनसपटलमा कुँदिएका छन्, बिचारणीय छन् र दियोझैं बनेर उज्ज्यालो प्रकाश दिइरहेका छन् ।

कार्यक्रमको समापनपछि पार्टी महासचिवसित प्रवासका अगुवा नेता–कार्यकर्ताको संक्षिप्त भेटघाट छ भनेर इञ्चार्ज कमरेड सुभासले उर्दी गर्नुभयो । हामी यसै पनि भेट्न लालयित थियौं । भेटघाट भयो । मनभरि उब्जेका कतिपय प्रश्नहरु राख्न नपाउँदै तपाईंहरु यसो भन्न चाहनुहुन्छ होला भन्दै सरासर जिज्ञासा मेटाउन माहिर उहाँभित्रको त्यो विलक्षण प्रतिभाले मलाई जागिर छाडेर राजनीतिमा लाग्ने कि ! भन्ने समेत बनायो । नेतृत्वसँग यो कुरा राखें । हामी प्रवास आएको जागिरकै लागि हो, भएको जागिर छाडेर राजनीतिमा होमिने होइन, यहिंबीचमा समय निकालेर देश र जनताका लागि काम गर्ने हो भनेर उहाँले सल्लाह दिनुभएको बुझेंपछि जागिरको क्षेत्रमा पनि उम्दा गतिका साथ काम गर्नुपर्छ भन्ने प्रेरणा मिल्यो मलाई उहाँबाट ।

दिल्ली बसाईंको तेस्रो चौथो दिन, तत्कालीन पार्टीका भारत प्रवास नेता केशवलाल श्रेष्ठ, जीवनारायण कोइरालाका साथ म पनि भएर हामी एकजना भारतीय नेतालाई भेट्न उहाँको अफिसमा गयौं । यो भेटघाटपछि जोशले भरिएका यी हातहरु मिलाएर म उहाँहरुबाट बिदा भएँ । त्यो मीठो मुस्कानले अहिले पनि मलाई उहाँकै मुखारतिर खिँचिरहेको छ तर त्यो भेटघाट र हस्तस्पर्श अन्तिम रहेछ ! घरिघरि त भयंकर ठूलो र असह्य पीडाबोध हुन्छ– यस्तो गुणवान् व्यक्तित्वसँग कहिल्यै नभेटिने गरी हात मिलाइएको केही वर्षपछि उहाँलाई देशले नै गुमाउनु परेकोमा ।
महासचिव मदनकुमार भण्डारीको दुःखद् निधनको पक्ष अध्ययन अनुसन्धानको सुरुङभित्र नै छ होला ! यो चाँडो सार्वजनिक हुनुपर्छ । उहाँलाई भेट्न पाएका वा नपाएका सबैलाई उहाँको नेतृत्वमा प्रतिपादित जनताको बहुदलीय जनवादमार्फत उहाँलाई सधैँभरि सम्झिरहनुपर्छ । उहाँको पार्टी अहिले यतिबेला सरकार सञ्चालनको क्रममा छ । जनताको बहुदलीय जनवाद नेपाली क्रान्तिको कालजयी बिचार हो, अजेय शक्ति हो, ओजस्वी संगठन निर्माण र यसको क्रियाशीलताको आधार हो । यो समृद्धिको प्रतिक हो भन्ने कुरा व्यवहारमा अनुवाद गर्न सक्नुपर्छ ।

जननेता मदनकुमार भण्डारी जनताको बहुदलीय जनवादमार्फत एकीकृत नेपाली क्रान्तिको मार्गचित्र निर्माण गर्नमा, उहाँको सर्वव्यापी गुण र क्षमताका कारण नेपाल र नेपाली जनताको मनमनमा, नेपाली राष्ट्र र राष्ट्रियताको मुद्धामा, नेपाल र नेपालीको समृद्धिको आधारशीलामा, नेपाल र नेपालीको विशिष्ट विशेषताअनुरुपको समाजवादी मोडलको अर्थ–सामाजिक संरचना निर्माणमा देखिनुपर्छ । यसतर्फ नेकपा (एमाले) नेतृत्वको सरकारलाई सफलता मिलोस्, जननेता मदनकुमार भण्डारीबाट यसका निमित्त प्रशस्तै प्रेरणा लिन सकिन्छ । शुभकामना सहित २८ औँ मदन–आश्रित स्मृतिको अवसरमा अश्रुभावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।