जनता टाइम्स

२९ जेष्ठ २०७८, शनिबार १२:३१

कांग्रेस सांसद बैद्यले गरे क्षमायाचना, प्रधानमन्त्री ओलीको हत्या गर्ने अभिब्यक्ति रेडर्कबाट हटाउन निवेदन


हेटौडा, जेठ २९ । नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने सार्वजनिक घोषणा गर्नुभएका कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले बागमती प्रदेशसभा बैठकमा क्षमायाचना गरेका छन । आजको प्रदेशसभा बैठकको सुरूमा बोल्दै सांसद वैद्यले शुक्रबारको बैठकमा आफूले बोलेका कुराप्रति आफैलाई खेद भएको भन्दै आत्मालोचना र क्षमायाचना गर्नुभएको हो ।

‘मैले बोलेको कुराले सामाजिक सञ्जालमा क्रियाप्रतिक्रिया धेरै भयो, आफूलाई लागेको कुरा संसदमा निर्धक्क बोल्न पाउने, पूर्ण वाक् स्वतन्त्रता हुने, मुद्दामामिला कहीँकतै मुद्दामामिला, कारवाही नहुने प्रावधान छ । सार्वभौम संसदमा आफूलाई लागेको कुरा दिल खोलेर बोल्न पाइन्छ,’ बैद्यले भन्नुभयो, ‘दिल खोलेर आफ्नो विचार राख्ने सिलसिलामा भाइरल भएको अवस्थामा मेरो पार्टीको समेत ध्यानाकर्षण भएको छ । पार्टीले आत्मालोचना गर्न निर्देशन दिएकाले आत्मालोचना गरेको छु । प्रधानमन्त्रीज्यूप्रति मेरो व्यक्तिगत रिसइबीको कुरा होइन । मैले असाध्यै आवेगमा आएर आवश्यकताभन्दा बढी नै स्वतन्त्रता उपभोग गरेको अनुभुति भयो । आफ्नो अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन अनुरोध गर्दछु ।’

शुक्रबारको प्रदेशसभा बैठकमा प्रधानमन्त्री ओलीले देश खाइदिने भएकाले आफू नाथुराम गोड्से बन्न तयार रहेको भन्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि बैद्यको चर्काे आलोचना भएको थियो । एमालेले समेत फौजदारी कानून आकर्षित हुने भन्दै कडा कदम चाल्ने चेतावनी दिएको थियो । सामाजिक सञ्जालमा पनि कडा आपत्ति जनाउँदै तत्काल पक्राउ गरी कार्वाही अघि बढाउन माग गरिएको थियो । सोहीबिषयमा सांसद वैद्यले स्पष्टीकरण दिन समय माग गरेकाले शनिबारको बैठकको शुरूमै बोल्न दिइएको थियो । नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका थिए । सांसद वैद्यले आफूले पनि प्रधानमन्त्री ओलीको हत्या गर्ने आशयको अभिव्यक्ति दिएपछि सर्वत्र विरोध भएको छ ।