जनता टाइम्स

१७ श्रावण २०७८, आईतवार १९:०२

दार्चुला घटनामा एमालेले सरकारमाथि उठायो गम्भीर सवाल, तत्कालै चार काम गर्न ध्यानाकर्षण


काठमाडौं, साउन १७ । नेकपा एमालेले तुइन काटेर महाकालीको भेलमा नेपाली युवा बेपत्ता बनाउने भारतीय सीमा सुरक्षा बल (एसएसवी) को कामप्रति कडा आपत्ति जनाउँदै तत्काल भारतसँग जानकारी माग्न सरकारको ध्यानाकर्षण गराएको छ । आज बसेको स्थायी कमिटी बैठकले सरकारले घटनाको बिषयमा मौनता साँधेको भन्दै यस्तो ध्यानाकर्षण गराएको हो । एमालेले सरकारलाई चार काम तत्कालै गर्न ध्यानाकर्षणसमेत गराएको छ ।

‘स्थायी कमिटी बैठकले हालै दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली नदी पार गरिरहेको बेला तुइनको लठ्ठा चुँडाउने र उर्लिंदो भेलमा बेपत्ता पार्ने गरी घटित अमानवीय र क्रूर घटनाको निन्दा गर्दै उक्त घटनाको सत्यतथ्य अविलम्ब नेपाली जनतासामु प्रस्तुत गर्न, त्यस विषयमा भारतीय पक्षसँग जानकारी माग गर्न, दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्ने निर्णय गरेको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ ।