जनता टाइम्स

११ आश्विन २०७८, सोमबार १८:५४

अस्पतालमै शव बन्धक, लालपुर्जा बुझाएर छुटे मृतकका आफन्त


मोरङ, असोज ११ । विराटनगरस्थित नोबेल मेडिकल कलेजले मृतकका आफन्तसँग जग्गाको लालपुर्जा लिएर एक दलित युवकको शव दिएको छ । निको हुन्छ भन्दै भर्ना गराएका बिरामीको मृत्यु भएपछि दुई दिनदेखि विराटनगर महानगरपालिका १२ मलहनमाका ३० वर्षीय विनोद रिसिदेवको शव अस्पतालले बन्धक बनाई जग्गाको लालपुर्जा लिएर परिवारलाई बुझाएको हो ।

सामान्य अवस्थामा रहेका रिसिदेवलाई ज्वरो र सुख्खा खोकी लागेको थियो । विराटनगरस्थित कोशी अस्पतालमा भर्ना भएका रिसिदेवलाई नोबेल अस्पतालमा भर्ना गराउन कोशी अस्पतालका चिकित्सकले सुझाव दिएपछि त्यहाँ लगिएको थियो । नोबेलमा भर्ना गरेलगतै त्यहाँका चिकित्सकले सामान्य अवस्थामा रहेको भन्दै आकस्मिक वार्डमा भर्ना गराएका थिए तर केही घण्टामा आइसीयुमा भर्ना गरेको मृतककी पत्नी जायमन्ती सिरिदेवले बताउनु भयो ।

जायमन्तीका अनुसार नोबेलमा भर्ना गर्दा चिकित्सले तत्काल उपचार सुरु गरे निको हुने भनेका थिए । तर, पछि चिकित्सकले मृत्यु भएपनि उपचारको नाममा औषधि किन्न लगाएको थियो । आइतबार बिहान ८ बजे श्रीमानको अवस्था राम्रो छ भन्दै चिकित्सकले सुप र औषधि किनेर ल्याउन भनेको तर सुप र औषधि किनेर ल्याई खुवाउन जाँदा चिकित्सकले बाहिर जानुस हामी खुवाइदिन्छौं भन्दै बाहिर निकालेका थिए । उहाँले मृत्यु भएपछि पनि आफूलाई श्रीमानलाई खुवाउन औषधि र सुप किन्न लगाएको गुनासो गर्नुभयो । उहाँका अनुसार अविभावकलाई लिएर आउँदा अस्पतालको बिल तिर्नु नत्र शव बाहिर नै फाल्ने भन्दै अस्पतालले धम्की दिएको थियो ।

अस्पतालले १ लाख २० हजार रुपैयाँ मागेको उहाँले बताउनु भयो । परिवारसँग पैसा नभएको जानकारी पाएपछि औषधि पसलेले दूधे बालकसहित तीनजनालाई बन्धक बनाएको थियो । रिसिदेवको मृत्यु भएपछि उनको उपचारमा औषधि दिएका साई राम फार्मेसीले मृतकका श्रीमतिसहित ८ महिनाका दूधे बालक र एक वुद्धलाई अस्पतालमा बन्धन बनाइएको हो । पछि जग्गाको लालपुर्जा लिएर छाडिएको छ ।

सो फार्मेसीले उपचारका लागि दिएको एकलाख बराबरको औषधिको रकम नदिएको अवस्थामा रिसिदेवको मृत्युपछि श्रीमति जायमन्ती, ८ महिने दुधेबालिका सन्ध्यासहित ६० वर्षीयसासू महावती रिसिदेवलाई फार्मेसीका सञ्चालकाले केही युवा लगाएर बन्धक बनाएको हो ।