जनता टाइम्स

११ आश्विन २०७८, सोमबार २३:३५

धर्म परिवर्तनप्रति कठोर बन्यो अदालत : हिन्दूलाई क्रिश्चियन बनाउने चार विदेशी जेल चलान


कास्की, असोज ११ । कास्की जिल्ला अदालतले धर्म परिवर्तन गराउने काम गैरकानूनी भन्दै कठोर निर्णय सुनाएको छ । धर्म परिवर्तन गराएको भन्दै अदालतले चार जना जना बिदेसी नागरिकलाई जेल सजाय सुनाएको हो । अदालतले कोरियन नागरिक पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा, किम युङहिकोलाई जेल सजाय सुनाएको हो ।

झण्डै दुई दर्जन बालबालिकालाई धर्म परिवर्तन गराएको प्रमाणित भएपछि अदालतले यस्तो फैसला सुनाएको छ । उनीहरुले विभिन्न मानिसलाई भेला पारेर गेष्ट हाउसमा खाजा खुवाउने र प्रभु यशुको भजन किर्तन गर्ने, आर्थिक सहयोग गर्ने, उपचार खर्च दिने, बालबालिकालाई निशुल्क विद्यालय पढाउने र धर्म परिवर्तन गराई क्रिस्चियन बनाउने गर्दै आएका थिए । आफ्नो अभियान बिस्तार गर्दै सो समुह पोखरा १० को सुकुम्बासी टोलका हरेक परिवारमा यो कोरियाली टोली पुगेको थयो ।

उनीहरुले गरिब परिवारका २० जना बालकलाई विद्यालयमा लाग्ने खर्च उठाउने गरी विद्यालय पठाइ निशुल्क ट्युसन पनि पढाउने गरेको पाइएको छ । छानविनबाट खुलेको तथ्यअनुसार उनीहरुले सुकुम्बासी टोलमा खाजा खाना बाँड्थे । चामल, पाउरोटी, बिस्कुट पनि बाँडिरहन्थे । विद्यार्थीहरुलाई ट्युसन पढाउन यी ४ कोरियालीले छुट्टै कोठा लिएका थिए ।

ट्युसन पढाउँदा पनि क्रिश्चियन धर्म सम्बन्धि काम गर्ने, बाइबलका श्लोक, भजन गाउन लगाउने गरेको स्थानीयले अदालतमा बताएका छन् । शनिबारको दिन बच्चाहरुलाई अनिवार्य चर्च जानुपर्ने नियम राखेर क्रिश्चियन धर्म सम्बन्धि प्रचार दिने गरेको स्थानीयको दाबी छ । स्थानीयले खबर गरेपछि कास्की प्रहरीले ती कोरियाली नागरिकलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । अनुसन्धान गर्दा उनीहरु बसेको गेष्ट हाउसमा येशुको प्राथना लेखेको चिट समेत बरामद गरेको थियो ।

सोमबार अदालत उभ्याइएका ती ४ कोरियाली नागरिकले भने आफूहरु धर्म परिवर्तन गराउन नआएको दाबी गरेका थिए । आफूहरुले विपन्न परिवारलाई सहयोग गरेको, विद्यार्थीहरुको पढाइ खर्च जुटाएकाले मानिस आकर्षित भएको हुन सक्ने दाबी उनीहरुको थियो । स्थानीयहरु यशुको प्राथना गर्दा उपस्थित हुने भएकाले क्रिश्चियन धर्ममा आस्था राख्ने गरेको बयान पनि उनीहरुले दिएका छन । तर कास्की जिल्ला अदालतले ती कोरियाली नागरिकलाई कारागार पठाउन आदेश गरेको छ ।

थुनछेक बहसपछि उनीहरुलाई कसूरमा कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी नीलप्रसाद पनेरुले जानकारी दिनुभयो । ‘प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा हाललाई कास्की कारागार पठाउन आदेश आएको छ,’ पनेरुले भन्नुभयो ।