जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १५:०२

कांग्रेस उपसभापतिमा चन्द्र भण्डारीको अग्रता कायमै, महामन्त्रीमा प्रदीप पौडेल अगाडि


काठमाडौं, असोज २७ । नेपाली कांग्रेसको जारी मतगणनामा उपसभापति पदको खुलातर्फ डा. चन्द्र भण्डारीले अग्रता कायम राख्नुभएको छ। त्यस्तै, महामन्त्री पदमा प्रदीप पौडेलले आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ भने महिला महामन्त्रीमा डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा देखिएको छ।

पछिल्लो मतपरिणामअनुसार खुलातर्फका उपसभापति उम्मेदवार डा. भण्डारीले १ हजार ५७ मत प्राप्त गर्नुभएको छ। उहाँलाई ७१२ मतसहित मधु आचार्यले पछ्याइरहनुभएको छ। त्यस्तै, सुरेन्द्र पाण्डेले ६८०, गोविन्द भट्टराईले ६०९, धनराज गुरुङले ४०६, दीपक गिरीले ३७१ र चन्द्रमोहन यादवले १९३ मत प्राप्त गर्नुभएको छ।

समावेशीतर्फको उपसभापति पदमा जीवन परियार अगाडि रहनुभएको छ। परियारले ८७८ मत प्राप्त गर्दा विनोद चौधरीले ६२५ मत पाउनुभएको छ। त्यस्तै, सीता गुरुङले ३३४, फरमुल्लाह मंसुरले २५० र रञ्जित कर्णले १८३ मत प्राप्त गर्नुभएको छ।

महिला महामन्त्री पदमा डा. डिला संग्रौला (पन्त) र महालक्ष्मी उपाध्याय (डिना) बीच प्रतिस्पर्धा देखिएको छ। सानेपामा जारी मतगणनाको पछिल्लो परिणामअनुसार डिला ९८३ मतसहित अगाडि रहनुभएको छ। उहाँलाई ९५२ मतसहित डिनाले पछ्याइरहनुभएको छ। तेस्रो स्थानमा रहनुभएकी रिता खनालले २५१ मत प्राप्त गर्नुभएको छ।

महामन्त्री पदमा प्रदीप पौडेलले १ हजार ४३८ मत प्राप्त गर्दै अग्रता कायम राख्नुभएको छ। दोस्रो स्थानमा रहनुभएका उदयशम्शेर राणाले ८२३ मत प्राप्त गर्नुभएको छ। सुरुदेखि नै अग्रस्थानमा रहनुभएका अमरसिंह पुन ७०७ मतसहित तेस्रो स्थानमा पुग्नुभएको छ। त्यस्तै, सुनिल शर्माले ५६४ मत प्राप्त गर्नुभएको छ। महामन्त्री पदमा गुरुराज घिमिरे, नैनसिंह महर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय पनि उम्मेदवार रहनुभएको छ।

मतगणना जारी रहेकाले आगामी परिणामसँगै उम्मेदवारहरूको मतान्तरमा परिवर्तन हुन सक्नेछ।