जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार १२:४६

बुढीगण्डकीमा अचानक आएको बाढीपछि मुख्यमन्त्री किरण थापाको अपिल :  सुरक्षा पहिलो प्राथमिकता हो, सतर्क रहौँ  


काठमाडौं, असोज २५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले गोरखास्थित बुढीगण्डकी नदीमा अचानक ठूलो बाढी आएको घटनापछि नदीको तल्लो तटीय क्षेत्रदेखि नारायणगढसम्म उच्च सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ।

आइतबार बिहान बुढीगण्डकी नदीमा ठूलो आवाजसहित अचानक बाढी आएको सूचना प्राप्त भएको उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले बाढीको कारण हालसम्म यकिन हुन नसकेको र नदी आसपासका केही गाउँबस्तीमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको बताउनुभएको छ।

घटनालाई दृष्टिगत गर्दै उहाँले बुढीगण्डकी नदीको तल्लो तटीय क्षेत्र तथा बुढीगण्डकी–त्रिशूली नदीको दोभानदेखि धादिङको बेनीघाट, विशालटार हुँदै नारायणगढसम्म त्रिशूली नदी आसपासका क्षेत्रमा आकस्मिक बाढीको जोखिम रहन सक्ने भन्दै विशेष सतर्कता अपनाउन अपिल गर्नुभएको हो।

मुख्यमन्त्री थापा मगरले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदीको जलस्तर र बहावमा अचानक परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सतर्क रहन र जोखिमयुक्त स्थानमा रहेका व्यक्तिहरूलाई सुरक्षित तथा अग्लो स्थानमा जान आग्रह गर्नुभएको छ।

उहाँले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा प्रवेश नगर्न तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहनसमेत सबैमा अनुरोध गर्नुभएको छ।

त्यस्तै, पृथ्वी राजमार्गअन्तर्गत त्रिशूली नदी आसपासको सडकखण्डमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई तत्काल स्थलगत जोखिम मूल्याङ्कन गर्न मुख्यमन्त्रीले आग्रह गर्नुभएको छ। जोखिमको अवस्था हेरी आवश्यकताअनुसार सवारी आवागमन रोक्ने, नियमन गर्ने वा वैकल्पिक व्यवस्था मिलाउनसमेत उहाँले अनुरोध गर्नुभएको छ।

मुख्यमन्त्री थापा मगरले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनमा संलग्न निकायहरूलाई जोखिम क्षेत्रको निरन्तर अनुगमन, पूर्वसूचना सम्प्रेषण, उद्धार तथा राहत सामग्रीको तयारी र अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन आग्रह गर्नुभएको छ।

उहाँले आम नागरिकलाई आधिकारिक निकायबाट जारी हुने सूचना तथा निर्देशन पालना गर्न र अपुष्ट सूचना सम्प्रेषण नगर्न पनि अनुरोध गर्नुभएको छ।

बाढीको सम्भावित कारण, प्रभाव तथा क्षतिको यकिन विवरण संकलन गर्न सम्बन्धित निकायबीच आवश्यक समन्वय हुनुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री थापा मगरले नागरिकको जीवन रक्षा, जनधनको सुरक्षा तथा सम्भावित क्षति न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार र सतर्क रहनुपर्नेमा जोड दिनुभएको छ।

‘सुरक्षा पहिलो प्राथमिकता हो। सतर्क रहौँ, सुरक्षित रहौँ,’ मुख्यमन्त्री थापा मगरले आफ्नो अपिलमार्फत भन्नुभएको छ।