काठमाडौं, असोज २५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राज्यको सम्पत्तिमा आगजनी गरेर लोकप्रिय बन्ने प्रवृत्तिप्रति प्रश्न उठाउनुभएको छ। उहाँले नयाँ भनिएकाहरू राज्यको सम्पत्तिमा आगो लगाएर लोकप्रिय बनेको टिप्पणी गर्दै सामाजिक सञ्जालको एल्गोरिदमले क्षणिक लोकप्रियता दिलाउन सक्ने भए पनि त्यसकै आधारमा देश चलाउन नसकिने बताउनुभयाे ।
पार्टीको मिसन जागरण अभियानअन्तर्गत आयोजित अगुवा कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘ विश्वमा राज्यको सम्पत्तिमा आगो लगाएर मानिस लोकप्रिय हुन्छ भन्ने कुरा मैले थाहा नपाएको कुरा हो।’
उहाँले लोकप्रियता र देश सञ्चालन गर्ने क्षमताबीच फरक रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा देखिने लोकप्रियताकै आधारमा कसैको राजनीतिक क्षमता मापन गर्न नहुने धारणा राख्नुभयो।
अध्यक्ष ओलीले भोटेकोशी बाढीका बेला सरकारले हेलिकप्टर नियन्त्रणमा लिएर दुरुपयोग गरेको बताउनुभयाे। उहाँका अनुसार सरकारी हेलिकप्टरको प्रयोग प्रभावकारी हुन नसक्दा राहत तथा उद्धारका काम प्रभावित भएका थिए। ‘सरकारले त्रिशूलीमा बाढी जाँदा हेलिकप्टर कब्जा मात्र होइन, दुरुपयोग गरेको थियो, जसले गर्दा राहत र उद्धारका कार्य समयमा हुन सकेनन्,’ उहाँले भन्नुभयो।
केही मन्त्रीहरूले सरकारी हेलिकप्टरलाई कुनै संस्थाको निजी सम्पत्तिजस्तो गरी प्रयोग गरेको बताउँदै अध्यक्ष ओलीले विपद्का बेला सरकारी स्रोतसाधनको उचित परिचालन हुनुपर्नेमा जोड दिनुभयो।

वैदेशिक सहयोग स्वीकार गर्ने र त्यसको सदुपयोग गर्ने विषयमा पनि सरकार प्रभावकारी हुन नसकेको उहाँको टिप्पणी थियो। समयमै उद्धार र राहतका काम हुन नसक्दा नागरिकले अनावश्यक क्षति व्यहोर्नुपर्ने अवस्था आउन सक्ने भन्दै उहाँले आगामी दिनमा त्यस्तो परिस्थिति दोहोरिन नदिन आग्रह गर्नुभयो। ‘वैदेशिक सहयोगको उचित सदुपयोग गर्न सकिएन, समयमा स्वीकारिएन, जसले गर्दा अनावश्यक रूपमा उद्धारको अभावमा थुप्रै नागरिकहरूले ज्यान गुमाउनु परेको भन्न सकिन्छ, यसपल्ट त्यस्तो नहोस्,’ ओलीले भन्नुभयो।
अध्यक्ष ओलीले सरकार नागरिकप्रति जिम्मेवार हुनुभन्दा पनि प्रचारमुखी गतिविधि र स्टन्टबाजीमा केन्द्रित भएको बताउनुभयाे। विपद्का बेला नागरिकको जीवन रक्षा, राहत वितरण र उद्धारलाई प्राथमिकता दिनुपर्ने उहाँको भनाइ थियो।
सम्बोधनका क्रममा उहाँले नेपाली नागरिकको चेतनास्तरमाथि पनि प्रश्न उठाउनुभयो। उहाँले ‘कागले कान लग्यो’ भन्ने हल्लाको पछि लागेर आफ्नो कान नछामी दौडने प्रवृत्तिसँग तुलना गर्दै नागरिकले कुनै पनि विषयमा हल्लाको पछि नलागी तथ्य बुझ्नुपर्ने आशय व्यक्त गर्नुभयो।
अध्यक्ष ओलीले सामाजिक सञ्जालको एल्गोरिदमका कारण केही समय लोकप्रियता हासिल गर्न सकिए पनि त्यसले देश सञ्चालनका लागि आवश्यक क्षमता र जिम्मेवारीको विकल्प दिन नसक्ने बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्