गोरखा, असोज २५। गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका–६, लोक्पादेखि चुलिडाँडाको बीचमा ठूलो पहिरो गई सोही स्थानमा जमेर भएर बनेको बुढीगण्डकी नदीमा आएको बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीका कारण दुई महिला र तीन पुरुष गरी पाँच जना सम्पर्कविहीन भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीले नदी किनारका बस्ती, पुल, सडक, विद्युत् तथा सञ्चार संरचनामा क्षति पुर्याएको छ। बाढीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र पारिएको छ।
प्राधिकरणले आइतबार दिउँसाे सार्वजनिक गरेको प्रेस नोटअनुसार बाढीबाट प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने, बेपत्ताको खोजी गर्ने र सम्भावित थप जोखिम न्यूनीकरण गर्ने कार्य भइरहेको छ।
बाढीको सूचना प्राप्त हुनासाथ प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमलगायत जिल्लामा प्रतिकार्य टोली परिचालन गरेको छ। बाढी पूर्वानुमान महाशाखाबाट बिहान ६ बजे सूचना प्राप्त भएपछि सम्बन्धित क्षेत्रका सर्वसाधारणलाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो।
प्राधिकरणमा बिहान ६ बजे सूचना प्राप्त हुनासाथ २२१ जना प्रतिकार्यकर्मीलाई तत्काल परिचालनका लागि खबर गरिएको जनाइएको छ। बिहान करिब ६ः३० बजेदेखि प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीको अध्यक्षतामा मनसुन प्रतिकार्य कमान्ड पोस्टको बैठक निरन्तर बसेको थियो। बैठकले बाढीको अवस्था विश्लेषण, आवश्यक सूचना सम्प्रेषण तथा सम्बन्धित निकायबीच समन्वय र सहजीकरण गरेको छ।
उद्धारका लागि नेपाली सेनाका तीनवटा विशेष फौजसहित १२७ जना, नेपाल प्रहरीका १२३ जना र सशस्त्र प्रहरी बलका १२७ जना गरी ३७७ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएका छन्। विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा नेपाल प्रहरीका ५० जनाको टोली तयारी अवस्थामा राखिएको जनाइएकाे छ।
त्यस्तै, नेपाली सेनाका चारवटा हेलिकोप्टर प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि परिचालन गरिएका छन्। हेलिकोप्टरमार्फत हालसम्म ४७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याइएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण सडक अवरुद्ध भएपछि तत्काल आवश्यक राहत सामग्री ढुवानीको कामसमेत गरिएको छ। घटनाको कारण पत्ता लगाउन ड्रोन तथा भूउपग्रहसम्बन्धी टोली परिचालन गरिएको छ। सडक विभाग तथा स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक सञ्चालन र बेलिब्रिजको सम्भाव्यता अध्ययनका लागि खटिएको छ।
गोरखा, लमजुङ र तनहुँका जिल्ला स्तरीय द्रुत प्रतिकार्य टोली तथा प्रदेश अस्पतालका आपत्कालीन चिकित्सकीय टोलीलाई पनि तयारी अवस्थामा राखिएको छ।
प्राधिकरणका अनुसार बाढीले चुमनुब्री गाउँपालिका–३ न्याक्चेतस्थित न्याक्चेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एउटा घर निर्माण गरिएको र बाढी पसेर एक घरमा क्षति पुगेको छ।
गोरखा धार्चे गाउँपालिका–४ स्थित माछिखोलाबाट केरौंजा जोड्ने झोलुङ्गे पुलसमेत बगाएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना तथा वरपर रहेका सातदेखि आठवटा घरमा क्षति पुगेको छ।
त्यस्तै, आरुघाट गाउँपालिका–१ नायपुलस्थित गोरखाको आरुघाटबाट धादिङ जोड्ने पक्की पुलको तीन भागमध्ये गोरखातर्फको एक भागमा क्षति पुगेको छ। माछिखोला क्षेत्रमा तल्लो बस्तीमा बाढी पसेपछि २० देखि २२ घर जोखिममा परेका छन्।
आरुघाट गाउँपालिका–२ र ३ जोड्ने क्षेत्रमा रहेको फलामे पक्की पुलसमेत बगाएको छ। बुढीगण्डकीको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणमा क्षति पुगेको छ। बाढीले दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का पोलमा समेत क्षति पुर्याएको प्राधिकरणले जनाएको छ।
बुढीगण्डकी नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नदी किनार तथा जोखिमयुक्त बस्तीबाट सुरक्षित स्थानमा रहन प्राधिकरणले अनुरोध गरेको छ। जोखिमयुक्त पुल तथा सडकबाट आवतजावत नगर्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्नसमेत आग्रह गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा थप क्षति न्यूनीकरणका लागि सम्बन्धित निकायबीच समन्वय भइरहेको प्राधिकरणका प्रवक्ता तथा उपसचिव शान्ति महतले जानकारी दिनुभएको छ।















प्रतिक्रिया दिनुहोस्