जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार ०७:३१

‘तेरो इज्जतमाथि दाग लगाइदिन्छु’ भनेपछि मेटासिट खुवाएर भीरबाट धकेली हत्या



ताप्लेजुङ, १२ असोज । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका ३ लिङ्खिमकी १८ वर्षीया पुष्पा तबेबुङ लिम्बूको हत्या भएको छ । हत्यामा संलग्न फुङलिङ–१० फुरुम्बुका २४ वर्षीय ट्रयाक्टर चालक रामकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख बालनरसिंह राणाका अनुसार कार्कीले हत्या गरेको स्वीकार गरिसकेका छन् ।

राणाका अनुसार ८र९ महिनाअघि चिनजान भएका उनीहरूबीच प्रेमसम्बन्ध भई शारीरिक सम्पर्कसमेत भएको थियो । गत शुक्रबार बिहान करिब ३ बजे कार्कीले फोन गरेर आफ्नो डेरा रहेको ठाउँ सुकेटार जाने सडकमा पुष्पालाई बोलाए । मोटरसाइकलमा राखेर वडा नम्बर ४ को सेती चौतारा पुर्‍याए । त्यहाँ करणी गरेको बयान कार्कीले प्रहरीलाई दिएका छन् । करणीपछि ‘विवाह गरौं’ भन्दा नमानेका कारण केही विवाद भएको र पुष्पाले ‘तेरो इज्जतमाथि दाग लगाइदिन्छु’ भनेपछि टाउकाको पछाडिको भागमा ढुंगाले प्रहार गरेको बताएका छन् ।

जमिनमा लडाएपछि ‘मलाई नमार्नु’ भन्दाभन्दै साथमा बोकेको मेटासिटको बिर्को खोलेर पुष्पाको मुखमा हालिदिएर भीरबाट धकेली झारिदिएको उनले बयान दिएको राणाले बताउनुभयो । घटनास्थलमा स्वीटर, चप्पल, विषादीको बट्टा र उनको मोबाइलसमेत पुष्पालाई लडाएतिरै फालेपछि ‘मरेकी छैन भने मार्ने’ भन्दै कार्कीले अर्को गोरेटो बाटो केही तल गई हेरेका थिए । कोल्टे अवस्थामा सास फेरिरहेको जस्तो देखेपछि पुनः हात समाई केही तलसम्म तानी बाटोमुनि खसाइ फर्किएको उनले बयानमा उल्लेख गरेको प्रहरीले जनाएको छ । त्यसपछि सुकेटारतर्फ गएका उनी त्यहाँबाट फर्किएर ग्यारेजमा गई मोटरसाइकल धोइपखाली कोठामा पुगेका थिए । घटनापछि पनि शनिबार कार्कीले ट्रयाक्टर लिएर तापेथोक गएको स्थानीयले देखेका थिए ।

प्रहरीले उनलाई शनिबार राति पक्राउ गरेको दाबी गरेको छ । पुष्पाको मोबाइल अहिलेसम्म फेला नपरेको र कार्कीले फालेको भनेको ठाउँमा खोजिरहेको प्रहरीले जनाएको छ । पुष्पाको आइतबार बेलुका पोस्टमार्टम भएको छ । विषसमेत खुवाइएको खुलेकाले घटनामा कार्कीबाहेक अरूको संलग्नता भए नभएको पाटो पनि प्रहरीले केलाउँदै छ । परिवारले पनि मिहिन ढंगले अनुसन्धान गर्न दबाब दिएका छन् । पोस्टमार्टम रिपोर्ट आएपछि अझ तथ्य खुल्ने डीएसपी राणाले बताउनुभयो ।