जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार १२:४१

घटस्थापनाको दिन, हलमा फिल्म !


काठमाडौं, असोज १२ । १८ महिनादेखि बन्द रहेको फिल्म प्रदर्शनलाई सुचारु गराइने भएको छ । फिल्म हल २१ असोज (घटस्थापना) को दिनदेखि खुल्ने भएपछि अब फिल्म प्रदर्शन हुने भएको हो । कोरोनाका कारण बन्द रहेको यस क्षेत्र घटस्थापनाको दिन पारेर खोल्न नेपाल चलचित्र संघ तयार रहेको महासचिव अशोक शर्माले बताउनुभयो ।

‘घटस्थापनादेखि देशभरका हल खोलेर फिल्म प्रदर्शन सुरु गर्दैछौ’ उहाँले भन्नुभयो,‘सुरुवातको चरणमा ठुला, चर्चित भन्दा पनि ठिक्क बजेटको फिल्म लाग्छ ।’ शर्माले २१ गते निर्देशक शोभित बस्नेतको फिल्म ‘डाँडाको बरपिपल’ लाग्न सक्ने बताउनुभयो । उहाँले थप्नुभयो, ‘बलिउडमा पनि फिल्म हल खुलेको छ । हिन्दी फिल्म पनि आउँछ । हिन्दी फिल्मले माहोल तताएपछि राम्रा नेपाली फिल्म पनि लाग्नेछन् । अव नियमित हल चल्नेछन् । फिल्मको समस्या छैन । समस्या दर्शक आउँछन्, आउँदैनन् भन्ने हो ।’

त्यस्तै चलचित्र संघले अब उप्रान्त एउटा नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म प्रदर्शन गर्न पाइने प्रावधान गरेको छ । अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी गर्नेछ ।