जनता टाइम्स

१२ आश्विन २०७८, मंगलवार २२:१०

उपेन्द्र यादवबिरुद्ध आफ्नै कार्यकर्ताले गरे चर्काे नारावाजी


जनकपुर,असोज १२ । पटक–पटक आश्वासन मात्रै दिएको भन्दै मधेश आन्दोलनका शहीद परिवारले जनता समाजवादी पार्टी (जसपा) को बैठकस्थलमा धर्ना दिँदै अध्यक्ष उपेन्द्र यादवबिरुद्ध नाराबाजी गरेका छन् ।

जसपाको प्रदेश २ का केन्द्रीय सदस्यहरुको बैठक धनुषाको लक्ष्मिनियाँ गाउँपालिकास्थित बाबाको ढावा होटलमा चलिरहेको बेला नारावाजी भएको हो । शहीद परिवार तथा घाइते भएकाहरु बैठकस्थलमै आएर धर्ना तथा नाराबाजी गरेका छन् । उनीहरुले वीर शहीद अमर रहुन्, शहीद परिवारको माग पूरा गर, भ्रष्ट मुख्यमन्त्री राजीनामा दे, उपेन्द्र यादव मुर्दावादसहितका नारा लगाएका छन् । प्रदेश सरकारले पटक–पटक आश्वासन मात्रै दिएर ठग्ने काम गरेकाले आफूहरु यहाँ आएर धर्ना दिएको उनीहरुले बताएका छन् ।

यसअघि भदौ ११ गते जसपाकै कार्यक्रममा धर्ना दिन आएको बखत जसपा अध्यक्ष उपेन्द्र यादव, मुख्यमन्त्री लालबाबु राउतसहितकाले एक साताभित्रै माग पूरा गरिदिने आश्वासन दिएपनि नगरेकाले पुनः आन्दोलनमा आउनुपरेको मधेशी शहीद परिवार तथा घाइते हकहित संघर्ष समितिका अध्यक्ष नरेश राय यादवले बताउनुभयो । शहीद परिवार दिउँसो २ बजेदेखि बैठकस्थलमा धर्ना एिका छन् । तर साँझसम्म कसैले वास्ता नगरेको उनीहरुले बताए ।