काठमाडौं, असोज १३ । केही वर्षयता अमेरिकामा बस्दै आउनुभएको अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको खुलासा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत तस्विर पोष्ट गर्दै उहाँले आफू गर्भवती भएको जानकारी दिनुभएको हो । गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गर्नुभएको उहाँले नेपाल आएर बिहे गर्ने बताउनुभएको थियो ।
तर, उहाँले फेसबुकमा आफू गर्भवती भएको तस्विर सार्वजनिक गर्दै आफ्ना फ्यान, फलोअर र सबैलाई चकित तुल्याउनुभएको हो । फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्ला चलेको छ । यसबारेमा भने उहाँको कुनै धारणा आएको छैन ।
०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गर्नुभएको रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उड्नुभयो र त्यहाँ पुगेको दुई महिनापछि श्यामसँग सम्पर्कविहीन हुनुभयो । श्याम पनि ०७२ सालमा अमेरिका उड्नुभयो तर उहाँले त्यहाँ रञ्जनालाई खोजेपनि भेट भने भएन ।
रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताएपछि दुबैले सम्बन्ध बिच्छेद गर्नुभयो । श्यामले दुई वर्षअघि स्वदेश आई एफएमकर्मी कसुम तामाङसँग मागी विवाह गर्नुभयो भने रञ्जनाले भने अमेरिकामै प्रेमी निकेश सिलवालसँग बस्नुभयो ।
केही टेलिसिरियल तथा पूर्वपति श्यामको निर्देशनमा बनेको मर्यादा र मौसम, सलाम छ मायालाई र कन्यादान फिल्ममा अभिनय गर्नुभएको रञ्जनाको अभिनय करिअर सुखद भने भएन । पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवती भएको खबर गर्वका साथ फैलाउने गरेका छन् । सोहीअनुरूप रञ्जनाले पनि आफू आमा बन्न लागेको खुसियाली ‘सेयर’ गर्नुभएको देख्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्