काठमाडौं, असोज १४ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउनु भएको छ । संसदमा जारी अवरोध खुलाउने विषयमा छलफल गर्न आज विहान १० बजे बस्ने गरी प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाउनु भएको हो ।
बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । ‘प्रधानमन्त्री भएपछि उहाँले सर्वदलीय बैठक बोलाउनुभएको छैन, यो नै पहिलो हो । त्यस्तो खास एजेण्डा छैन । तर, सबैको कुरा सुनौं भन्ने हिसाबले बैठक बोलाइएको हो,’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘अहिले संसद्मा जारी अवरोध खुलाउने विषय नै प्रमुख एजेण्डा हो ।’
संसद्मा प्रतिनिधित्व गर्ने पाँच दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनमै छन् । बैठकमा त्यसबाहेक संसद्को प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ ।
नेकपा एमालेका १४ जना सांसदहरुलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालले गत २३ भदौबाट संघीय संसद्का बैठकहरुमा निरन्तर अवरोध पुर्याउँदै आएको छ । संसद्को गतिरोध खुलाउनकै लागि सभामुख अग्नीप्रसाद सापकोटाले पनि भदौमा सर्वदलीय बैठक बोलाउनु भएको थियो । तर प्रमुख प्रतिपक्षी एमालेले बैठक नै बहिष्कार गरेको थियो ।













प्रतिक्रिया दिनुहोस्