जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार ०९:५५

जिल्ला बाहिर सेवा लिन जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : मन्त्री खड्का


दोलखा, असोज १४ । वाग्मती प्रदेशकी आर्थिक मामिला तथा योजना मन्त्री रचना खड्काले प्रदेश सरकारका सेवा प्रदायक कार्यालय जिल्लामा स्थापना गर्न आवश्यक रहेको बताउनुभएको छ ।

गृहजिल्ला दोलखामा आफ्नै सम्मानमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री खड्काले यस्तो बताउनु भएको हो । उहाँले सिंहदरबारको अधिकार गाउँमा पुर्याउने भनिएको भए पनि नागरिकले सेवा लिन अन्य जिल्लामा धाउनु पर्ने वाध्यात्मक अवस्था रहेको बताउनुभयो ।

प्रदेश स्तरीय कतिपय कानुन निर्माण भइनसकेका कारण यो कुरा कार्यान्वयनमा समस्या रहेको उहाँले बताउनुभयो । ‘प्रदेश स्तरीय कार्यालय प्रत्येक जिल्लामा राख्नको लागि समस्या देखा परेकोले प्रदेश मातहतका सबै काम स्थानीय तहबाट नै कसरी गर्न सकिन्छ भन्ने बारेमा अध्ययन भइरहेको छ’, खड्काले भन्नुभयो । उहाँले प्रत्येक जिल्लामा कार्यालय स्थापना गर्ने वा सबै काम स्थानीय तहमार्फत गर्ने व्यवस्था मिलाउने भन्ने बारेमा अध्ययन भइरहेको बताउनुभयो ।

राजनैतिक परिर्वतनसँगै सरकार परिवर्तनको कुरा स्वभाविक भएको खड्काले बताउनुभयो । आफू जतिन्जेल पदमा रहिन्छ त्यतिन्जेल राम्रो काम गर्ने उहाँले बताउनुभयो । मन्त्री भएपछि पहिलो पटक जिल्ला पुग्नुभएकी खड्कालाई नेकपा एमाले, जिल्ला समन्वय समिति दोलखा तथा विभिन्न संघसंस्थाले सम्मान कार्यक्रम आयोजना गरी स्वागत गरेका थिए । एमाले दोलखाका अध्यक्ष ईश्वरचन्द्र पोखरेल, सचिव भरत दुलाल, सहसचिव एवं जिल्ला समन्वय समिति प्रमुख डवल पाण्डेलगायतले उहाँलाई स्वागत गर्नुभएको थियो ।