जनता टाइम्स

१४ आश्विन २०७८, बिहीबार ११:०९

सभामुखले आफ्नै नजिर माने एक मिनेटमा वैठक चल्छ : शान्ता चौधरी


काठमाडौं, असोज १४ । एमाले सचेतक शान्ता चौधरीले सभामुख अग्नि सापकोटा कानूनअनुसार चले एक मिनेटमै संसद अवरोध हटने बताउनु भएको छ । सत्तारुढ गठवन्धनका कारण मुलुकमा राजनीतिक मुठभेड बढ्ने अवस्था देखिएपछि चौधरीले यस्तो बताउनु भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पासोमा फसेको सत्ता गठवन्धनले प्रमुख प्रतिपक्षी एमालेलाई फसाउने र फुटाउने प्रयास स्वरुप आज सर्वदलीय बैठक बोलाएपछि एमालेले बहिस्कार गर्ने बताइसकेको छ । नेतृ चौधरीले नियत खराव राखेर आयोजना हुने बैठकमा एमाले सहभागी नहुने प्रष्ट पार्नुभयो ।

‘उहाँहरुले राम्रो नियतले बैठक बोलाउनुभएको होइन, नियत खराब छ, त्यसैले हामी जाँदैनौं’, सचेतक चौधरीले भन्नुभयो । सत्ता गठवन्धनले प्रतिनिधि सभामा भइरहेको अवरोध खुलाउन बैठक बोलाएको भने पनि एमालेले उठाएको अत्यन्तै जायज मागमुद्दालाई ओझेलमा पार्ने नियतले सत्ता गठवन्धनले सर्वदलीय बैठक बोलाएको उहाँले बताउनु भयो । ‘हामी संवादहिनताको अवस्था चाहँदैनौं, हामी जतिबेला जहाँ पनि वार्ता र छलफल गर्न चाहन्छौं, तर, षडयन्त्रमूलक बैठकमा जाँदैनौं,’ सचेतक चौधरीले भन्नुभयो ।

सभामुख सापकोटाले पार्टीपिच्छे फरक व्यवहार गरेको, उस्तै प्रकृतिको प्रकरणमा फरकफरक निर्णय दिएको भन्दै एमालेले विरोध गरिरहेको छ । एमालेले आफ्ना १४ जना सांसद्ले व्हीप उल्लंघन गरेपछि उनीहरुलाई पदबाट हटाउन सभामुखलाई पत्र दिएको थियो । विगतमा व्हीप उल्लंघकर्तालाई दलको पत्र पाउनासाथ निष्काशित गर्ने गरिएकोमा अग्निप्रसादले १४ जनाको हकमा भने त्यसो गर्नुभएन । एमालेले सभामुख सापकोटाको सो कदमबिरुद्ध आन्दोलन अघि बढाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले पद अनुकूलको राजनीतिक आचरण गरेमा, विगत नजीरको आधारमा निर्णय दिएमा सदन अवरोध तत्काल हट्ने चौधरीले बताउनु भयो । ‘बैठक गर्नै पर्दैन, विगतको नजीरको आधारमा सभामुखले निर्णय दिएको एक मिनेटमा वैठक चल्छ,’ चौधरीले भन्नुभयो ।