जनता टाइम्स

७ असार २०७६, शनिबार १०:०३

मेयर हुन त यस्ता, जस्ले आफ्नो तलव भत्ता गरिरहेछन बिपन्न जनताकै काममा खर्च


डडेलधुरा, असार ७

स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनीधि र त्यहाँ हुने अनिमितताका समाचारले स्थानीय सरकारप्रतिको धारणा निकै नकारात्मक बनाउदै लगेको छ । तर डडेलधुराका एक स्थानीय तह प्रमुख भने यी सवै आरोप भन्दा माथि छन ।

तीजनप्रतिनिधि हुन, डडेल्धुरा परशुराम नगरपालिकाका मेयर भिमबहादुर साउद । उहाँको जन उत्तरदायी काम निकै उदाहरणीय छ । साउद नगरपालिकाबाट १ रुपयाँ पनि तलब भत्ता नलिइ जनताको काम गर्दै आउनु भएको छ । मेयर साउदले कुनै पनि शीर्षकमा नगरपालिकाबाट सेवासुविधा लिनु हुन्न । मेयर साउदले नियम अनुसार आफुूले पाउने तलब, तेल खर्च, घर भाडा, दैनिक भ्रमण भत्ता, गाडी सुविधा र नगरपालिकाबाट पाउने हरेक बैठकको भत्ता अहिलेसम्म नलिनु भएको हो ।

नियम अनुसार पाउने मासिक रकम रु ३५ हजार र प्रत्यक वैठक भत्ता बापत पाउने रु २ हजार लगात अन्य सबै सेवा सुविधा मेयर साउदको आफ्नो कोषमा जम्मा गरि सामाजिक काममा खर्च गर्ने गर्नुभएको छ। सो रकम निजी स्रोतका शिक्षक, आर्थिक रूपमा विपन्न वर्गका बिरामी, विभिन्न रोगले ग्रसित बिरामी र अन्य सामाजिक काममा खर्च गर्ने गरी मेयर साउँदले कोष स्थापना गर्नुभएको हो । कोष स्थापना भएपछि पर्शुराम नगरपालिकाका धेरै विपन्न समुदायका बालबालिकाले पढ्न पाएका छन् भने धेरै बाढीपीडितले राहत, उपचार नपाएकाले उपचार पाएका छन् ।

पर्शुराम नगरपालिकाका कानुनी सल्लाहाकार गोविन्दराज जोशीले कोषबाट धेरै पर्शुरामवासीले राहत पाएको बताउनु भयो । ‘मेयरले नगरपालिकाबाट पाउने भनेको दैनिक एक कप चिया मात्रै हो । आफ्नै गाडी चढ्दै आउँनु भएका मेयर साउँदले ईन्धन पनि व्यक्तिगत खर्चबाटै हाल्ने गर्नु भएको छ,’ जोशीले भन्नुभयो, ‘आफ्नो निजी गाडी प्रयोग गर्नुहुन्छ, तेल पनि निजी खर्चबाट चलाउँनु हुन्छ, वडामा भ्रमण गर्दा कानुनी रूपमा पाउने कुनै पनि भत्ताको लालच छैन । त्यतीमात्र हैन गाडी चालक पनि आफैले सेवा सुविधा दिएर राख्नु भएको छ’ ।

साउदले जनताको सेवाका लागि निर्वाचन लडेको र जनताले नै विजयी गराएकाले उनीहरुकै करबाट आफ्नो सेवा सुविधा थप्नेमा ध्यान नै नगएको बताउनु भयो । उहाँले राजीनिती सेवाकै लागि सुरु गरेकाले कुनै पनि सेवा सुविधा नलिएको बताउनु भयो ।