काठमाडौं, असोज १५ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको आजदेखि २२औं राष्ट्रिय सम्मेलन सुरु भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा क्रान्तिकारीको सम्मेलनको उद्घाटन सम्पन्न भएको छ । उदघाटन सकिएपछि आजदेखि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुरमा बन्दसत्र सञ्चालन हुने छ ।
सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएकोले नेतृत्वका लागि आधा दर्जन क्रान्तिकारीका नेता आकांक्षी देखिएका छन । यसपटकको सम्मेलनले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेको छ । क्रान्तिकारीको २१औं सम्मेलनबाट रञ्जित तामाङ अनिल शर्मालाई हराउँदै विजय हुनुभएको थियो । यस्तै यसअघि भर्खरै सम्पन्न योङ् कम्युनिष्ट लिग (वाइसिएल)मा सर्वसम्मत नेतृत्व चयन गरिएको थियो । क्रान्तिकारीमा यसपटक उपाध्यक्ष सुरेन्द्र बस्नेत, पंचा सिंह, तिलक भण्डारी, दीपक देवकोटा, विजय गौतम र महासचिव उत्तम अधिकारी अध्यक्षका दाबेदार हुनुहुन्छ । बस्नेत क्रान्तिकारीका प्रवक्तासमेत हुनुहुन्छ । उहाँलाई शक्ति बस्नेत र वर्षमान पुनको समर्थन रहेको छ ।
यस्तै अर्का उपाध्यक्ष सिंहलाई अर्थमन्त्री जनार्दन शर्माको सहयोग रहेको छ । क्रान्तिकारीमा एक पटक महिला नेतृत्वलाई पनि अवसर दिनुपर्दछ भनेर आवाज उठिरहेको छ । यदि महिलालाई नेतृत्वमा पुर्याउने हो भने सिंह अध्यक्ष बन्ने सम्भावना छ । यस्तै अर्का उपाध्यक्ष भण्डारीको सम्भावना पनि उत्तिकै छ । सल्यानका भण्डारीलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी प्रवक्ता कृष्णबहादुर महराको समर्थन रहेको छ ।
उहाँलाई क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्लको पनि साथ सहयोग छ । जसले गर्दा उहाँको सम्भावना बलिया रहेको छ । यस्तै देवकोटालाई अध्यक्ष बनाउन सभामुख अग्निप्रसाद सापकोटा लागिपर्नु भएको छ । देवकोटा अग्निका ज्वाइँ हुनुहुन्छ । यस्तै पार्टीका नेता नारायणकाजी श्रेष्ठको समर्थन उपाध्यक्ष गौतमलाई रहेको छ । अहिलेका महासचिव अधिकारीलाई अध्यक्ष बनाउन उर्जामन्त्री पम्फा भुसाल र देव गुरुङ लाग्नुभएको छ । यस्तै महासचिवको प्रतिस्पर्धामा उपाध्यक्ष दीपेश पुन र उपमहासचिवको प्रतिस्पर्धामा गणेशप्रसाद मैनाली, मिलन एमसी र टुकमान महरा रहनुभएको छ ।
महासचिवमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दीपेश पुनको सम्भावना बलियो रहेको छ । यस्तै उपमहासचिव पदमा सबभन्दा बढी मत ल्याई विजय हुने मैनालीको सम्भावना पनि उत्तिकै छ । सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी रहेका छन् । विधान सम्मेलनले २३ पदाधिकारी सहित १९९ केन्द्रीय समिति हुने निर्णयअनुसार सम्मेलनले ती पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्ने छ । सम्मेलनमा आज राजनीतिक र सांगठनिक प्रतिवेदन प्रस्तुत हुने र भोलि नयाँ नेतृत्वका लागि छलफल हुने क्रान्तिकारीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्