जनता टाइम्स

१६ आश्विन २०७८, शनिबार २१:१०

प्रचण्डले खोसे बिद्यार्थी नेताका अधिकार


काठमाडौं, असोज १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका प्रतिनिधिको सवै अधिकार आफ्नो हातमा लिनुभएको छ । जारी राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले संगठनको अध्यक्ष छान्ने अधिकार आफ्नो हातमा लिई बिद्यार्थी प्रतिनिधिका अधिकार खोस्नुभएको हो ।

अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटीको बैठकबाटै अनेरास्ववियू क्रान्तिकारीको तोक्ने अधिकारी आफूले लिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकले अखिल क्रान्तिकारीको अध्यक्ष चयन गर्ने जिम्मेवारी अध्यक्ष दाहाललाई दिने निर्णय गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

‘अखिल क्रान्तिकारीको अध्यक्ष छनौट गर्ने जिम्मेवारी अध्यक्ष कमरेडलाई दिइएको छ,’ बैठकपछि प्रवक्ता महराले भन्नुभयो । माओवादीको यो निर्णयले अखिलको राष्ट्रिय सम्मेलन नाटकमै सिमित हुनुका साथै माओवादीमा कुनैपनि संगठनलाई आफ्नो नेतृत्व छान्ने अधिकार नभएको प्रमाणित गरेको छ ।