काठमाडौँ, १८ असोज । जिल्ला समन्वय समितिका सदस्य नन्दे खड्काले ज्वाला उच्च मावि बेस्तडाका प्रधानाध्यापक एवं शिक्षक महासंघका कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारीलाई अभद्र व्यवहार गर्नुभएको छ। खड्काले भगवतीमाई गाउँपालिकाका अध्यक्षको कार्यकक्षममा बोलाएर अधिकारीलाई अभद्र व्यवहार गर्दै हातपात गर्नुभएको हो ।
बेस्तडा उच्च माविका अध्यक्ष समेत रहेका नन्दे खड्काले अपमानजनक व्यवहार गर्नुका साथै, पानीको बोतलले समेत हिर्काएको पीडित देवेन्द्र अधिकारीले बताउनुभयो । ‘विद्यालयको विषयमा कुरा गर्नु छ भन्दै मलाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाको कार्यकक्षमा बोलाइयो, म गएँ, विद्यालयको ८ कोठे भवनको विषयमा कुरा भयो, विद्यालयमा सामाजिक परीक्षण गर्ने विषयमा कुरा भयो, भवनको अझै फरफार हुन सकेको छैन, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद सकिएको दुई वर्ष भइसकेको छ । विद्यालयको शैक्षिक सुधारका विषयमा विद्यालय व्यवस्थापन समिति तत्काल नयाँ गठन गर्नुपर्ने, भवनको प्रभावकारीताका बारेमा जनप्रतिनिधिहिरुले ख्याल गर्नुपर्ने विषयमा कुरा हुँदै थिए, एक्कासि म माथि आक्रोश पोख्दै, गाली गलौच गर्दै, अध्यक्षको टेबुलमा राखिएको पानीको बोतल र्हिकाएर अपमान गरे’, पीडित अधिकारीले भन्नुभयो ।
राजनीति पूर्वाग्रह साँधेर आफूमाथि अनावश्यक आरोप लगाउने गरेको अधिकारीको गुनासो छ । गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले विद्यालयको शैक्षिक सुधारका बारेमा शिक्षा समितिमा छलफल भएको र सोही अनुसार सामाजिक परीक्षण गर्ने विषयमा हुँदै गर्दा आपसमा भनाभन भएकै अवस्थामा नन्दे खड्काले देवेन्द्र अधिकारीलाई पानीको बोतले हिर्काएको र पुनः अर्को बोतल हिर्काउँदा आफूले खोसेको बताउनुभयो । शिक्षक माथि जनप्रतिनिधिले गरेको अभद्र व्यवहारप्रति शिक्षक संगठनहरुले आपत्ति जनाएका छन्।
जनप्रतिनिधि अध्यक्ष हुन नमिल्ने तर बलमिचाइँ
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका नन्दे खड्का जिल्ला समन्वय समितिको सदस्य भएपछि उहाँले स्वतः अध्यक्ष पद छोड्नुपर्ने कानुनी प्रावधान हो । अध्यक्ष पद छोडेपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने थियो । तर, नन्दे खड्काले बलमिचाइँ गरेर विगत दुई वर्षदेखि अध्यक्ष पद छोड्नुभएको छैन । जसका कारण तत्कालीन समयमा निर्माण गरिएको विद्यालयको कामको फरफारक हुन सकेको छैन। विद्यालयका अन्य शैक्षिक गतिविधिहरुमा झनै समस्या भएको छ। शिक्षकहरुले यस्ता विषयहरूको कुरा उठाउँदा नन्दे खड्काले अपमान गर्दै प्रधानाध्यापक नै हटाइदिने धम्कि दिँदै आएको शिक्षकहरुको गुनासो छ।













प्रतिक्रिया दिनुहोस्