जनता टाइम्स

१८ आश्विन २०७८, सोमबार १८:२५

मंगलबारदेखि लागू हुने गरी टेलिकमले ल्यायो चाडपर्व अफर : ५ सयको रिचार्जमा १ जिबी डाटा सित्तै


काठमाडौं,असोज १८। नेपाल टेलिकमले दशैं, तिहार र छठका लागि विभिन्न अफर ल्याएको छ । मंगलबारदेखि लागू हुने गरी टेलिकमले डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनससहितको पर्व अफर उपलब्ध गराउने भएको कम्पनीले जनाएको छ ।अफरहरू दशैंका अवसरमा असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म तथा तिहार, न्हुँदया र छठका लागि कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म उपलब्ध हुने प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

डाटा प्याक अन्तर्गत २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिनेछ । त्यसैगरी कम्पनीले एकदिनका लागि १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध गराउनेछ ।भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा २४ घण्टा प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा तीन दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ ।

यी प्याकहरू जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ ।यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रूपमा डाटा प्याक उपलब्ध गराइने पनि कम्पनीले जनाएको छ । २ सय रुपैयाँदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५ सय एमबी र ५ सय रुपैयाँभन्दा बढीको रिचार्जमा ४ दिनभित्र प्रयोग गर्न सकिने एक जिबी डाटा प्याक उपलब्ध हुनेछ ।