रामेछाप, असोज २ । उमाकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको समन्वय तथा सहजीकरणमा वडा नं. ३ स्थित श्री जनता माध्यमिक विद्यालयमा प्रारम्भिक बाल विकास (ECD) शिक्षाको गुणस्तर सुधारसम्बन्धी बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
वडा नं. ३ अन्तर्गतका सातवटै विद्यालयका प्रधानाध्यापक तथा बाल विकास सहजकर्ताहरूको सहभागितामा सम्पन्न कार्यक्रममा प्रारम्भिक बाल विकास कक्षाको वर्तमान अवस्था, ELDS (Early Learning and Development Standards) को प्रभावकारी कार्यान्वयन, कक्षाकोठा व्यवस्थापन, बालमैत्री सिकाइ वातावरण, सिकाइ सामग्रीको प्रयोग तथा शिक्षण–सिकाइ क्रियाकलापका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा बालबालिकाको सहभागिता, घुम्ती बैठक तथा नियमित अनुगमनलाई प्रभावकारी बनाउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो। ELDS को मर्मअनुसार बालबालिकाको उमेर, रुचि, क्षमता तथा विकासको अवस्थालाई ध्यानमा राखी खेल, कथा, गीत, संवाद, सिर्जनात्मक गतिविधि तथा प्रत्यक्ष अनुभवमा आधारित सिकाइलाई प्राथमिकता दिनुपर्नेमा सहभागीहरूले जोड दिनुभएको थियो।
सो कार्यक्रममा वडा नं. ३ अन्तर्गतका सातवटै विद्यालयका प्रधानाध्यापक तथा बाल विकास सहजकर्ताहरूले आ–आफ्ना विद्यालयमा सञ्चालन भइरहेका प्रभावकारी अभ्यास, उपलब्धि, समस्या तथा चुनौतीहरू प्रस्तुत गर्नुभएको थियो। उहाँहरूले एकअर्काका असल अभ्यास तथा अनुभव आदानप्रदान गर्दै प्रारम्भिक बाल विकास शिक्षालाई थप प्रभावकारी बनाउने उपायबारे छलफल गर्नुभएको थियो।
प्रारम्भिक बाल विकास शिक्षामा निरन्तर सुधार तथा विद्यालयहरूबीच असल अभ्यासको आदानप्रदानलाई प्रभावकारी बनाउन प्रत्येक महिना कम्तीमा एक पटक फरक–फरक विद्यालयमा घुम्ती बैठक सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। घुम्ती बैठकमार्फत ECD कक्षाको अवलोकन, सिकाइ अनुभव आदानप्रदान, समस्या पहिचान तथा समाधानका उपायबारे सामूहिक छलफल गरिने जनाइएको छ।
उमाकुण्ड गाउँपालिकाका अन्य वडाहरूमा समेत यस प्रकारका कार्यक्रम सञ्चालन भइरहेका छन्। गाउँपालिकाभित्रका विद्यालयहरूबीच प्रारम्भिक बाल विकास शिक्षाका असल अभ्यास, अनुभव तथा सिकाइ आदानप्रदान गर्दै समग्र रूपमा ECD शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।












प्रतिक्रिया दिनुहोस्