जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार ०८:५९

भीम रावलले फर्काए प्रचण्डलाई जस्ताको तस्तै जवाफ


काठमाडौं, असोज १९ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफुहरुको साथ नपाएर रोइलो गर्दै हिँडेको बताउनुभएको छ । प्रचण्डले एउटा कार्यक्रममा माधव नेपालको साथ छाडेर एमालेमै बसेका दोस्रो पुस्ताका नेताहरुलाई लक्षित गर्दै बेइमानी गरेको र एमालेमा आत्मसमर्पण गरेको बताएपछि त्यसको जवाफमा उपाध्यक्ष रावलले प्रचण्डले रोइलो गर्दै हिँडेको बताउनुभएको हो ।

सार्वजनिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उपाध्यक्ष रावलले एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गरेको उल्लेख गर्नुभएको छ। ‘एमाले फुटाउन ‘१० भाइ’ नलागेकाले प्रचण्डजीले रोइलो गर्दै ‘झुक्याएर आत्मसमर्पण गरे’भन्ने हास्यास्पद तर्क गर्नु भएको रहेछ।’ रावलले लेख्नुभएको छ ।

नेता रावलले प्रचण्डलाई जनयुद्धबाट सत्ता हत्याउँछु भनेर जनयुद्ध शुरु गरेको तर गिरिजा देखि देउवा सम्म पछि लागेर पद हत्याएको आरोप समेत लगाउनुभएको छ । ‘एमालेका नेताहरू सोही पार्टीमा रहँदा ‘आत्मसमर्पण’ हुने तर ‘जनयुद्ध’बाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने ?’ रावलले ट्वीटर मार्फत प्रश्नसमेत गनुर््भयो ।

प्रचण्डले आफु निकट बुद्धिजिवीहरुको कार्यक्रममा माधव नेपालको साथ छाडेका १० नेताहरुले आफुलाई झुक्याएको बताउनुभएको थियो । उहाँले एमालेका दोस्रो तहका नेताहरुलाई फकाउन आफूहरुले ठूलो मिहिनेत गरेको भएपनि तिनीहरुको विचार र सिद्धान्त त्यही सूर्य चिन्हको लोगोमा रहेकाले आत्मसमर्पण गरेर टुंङ्गिएको समेत आरोप लगाउनुभएको थियो ।