जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार २१:४७

आईजीपी दानबहादुर कार्कीलाई खगेन्द्र सुनारको छाडा गाली, दम भए बर्दी खोलेर चुनाव लड्न आउन चुनाैति 


काठमाडौं, असोज २१। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि गम्भीर आरोप लगाउँदै सार्वजनिक रूपमा चुनौती दिनुभएको छ।

राजदूत नियुक्तिसँग जोडिएको विवादमा आफ्नो नाम मुछिएको विषयप्रति आपत्ति जनाउँदै सांसद सुनारले आफूविरुद्ध विभिन्न माध्यमबाट प्रचार, धम्की र दबाब सिर्जना गर्ने काम भइरहेको दाबी गर्नुभएको हो। उहाँले प्रहरी प्रधान कार्यालय तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को भूमिकामाथि समेत प्रश्न उठाउँदै आफूविरुद्ध भएका गतिविधिको प्रमाण आफूसँग रहेको दाबी गर्नुभएको छ।

सांसद सुनारले प्रहरी प्रधान कार्यालयमा रहेर आफूविरुद्ध बोल्ने, समाचार लेख्ने वा प्रमाण जुटाउने व्यक्तिहरूमाथि दबाब र प्रभाव प्रयोग भइरहेको आरोप लगाउँदै त्यसको निष्पक्ष छानबिन गर्न चुनौती दिनुभएको छ।

उहाँले भन्नुभयो, “म यहाँबाट चुनौती के पेस गर्न चाहन्छु भने, हेडक्वार्टरका दुई–चार क्वार्टर खाएकाहरूले जसरी वाकिरहेका छन्, ती हेडक्वार्टरलाई पनि र हेडक्वार्टरका क्वार्टर खाएकाहरूलाई पनि मेरो चुनौती छ। अहिले भर्खरै मात्र एकजना पूर्वप्रधानन्यायाधीशको घरमा छापा हानेको जस्तै हाम्रो पनि घरमा छापा हानौँ र ती आरोपितहरूको पनि घरमा छापा हानौँ। अझ त्यो हेडक्वार्टरमै गएर पनि छापा हानौँ। र खोजौँ फेरि तिनलाई पनि। तिनलाई पनि कठघरामा उभ्याउँ।”

उहाँले प्रहरी प्रधान कार्यालयले आफूविरुद्ध समाचार लेखाउने तथा प्रमाण संकलन गर्ने व्यक्तिहरूलाई रकम दिने गरेको आफूले सुनेको दाबीसमेत गर्नुभएको छ। त्यसबारे छानबिन गर्न चुनौती दिँदै उहाँले आफूविरुद्धका आरोप प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताउनुभयो।

सुनारले भन्नुभयो, “अहिले मैले यसो सुनिरहेको छु, हेडक्वार्टरले खगेन्द्र सुनारको समाचार छाप्नेलाई यति, फोटो ल्याउनेलाई यति, प्रमाण ल्याउनेलाई यति भनेर पैसा दिने गरेको छ। मेरो यहाँबाट चुनौती छ। त्यो सीआईबी भन्ने एउटा संगठनले, त्यो उमा चतुर्वेदी भन्ने एउटा बदमासले, त्यो एआईजीले जसरी त्यहाँ बसेर मसँग फोटो जोडिएका मान्छेहरूलाई बोलाउँदै प्रत्येक दिन धम्काइरहेको केही प्रमाणहरू प्राप्त भएको थियो।”

आफू अहिले आईजीपीसँगको विवादमा केन्द्रित भएकाले प्रहरीको तल्लो तहका विषयमा धेरै नबोलिएको उहाँको भनाइ छ। तर, सीआईबीका गतिविधिसँग सम्बन्धित थप प्रमाण आफूहरूसँग रहेको दाबी उहाँले गर्नुभएको छ।

“मैले अहिले चिफसँग परिरहेको हुनाले अलि तल्लो लेभलमा नझरौँ भनेर त्यता नफर्केको हुँ। सीआईबीले गरिरहेको बदमासीको पनि चाङ हामीसँग छ,” उहाँले भन्नुभयो।

सांसद सुनारले आफू सार्वभौम संसद्को सदस्य भएको उल्लेख गर्दै प्रहरीको गतिविधिबारे संसद्बाटै प्रश्न उठाइरहेको बताउनुभयो। उहाँले प्रहरीसँग आफूलाई पक्राउ गर्ने वा हत्कडी लगाउने साहस भए त्यसका लागि आफू तयार रहेको दाबी गर्नुभयो।

उहाँले भन्नुभयो, “एउटा सार्वभौम सांसद आज सिंहदरबारबाट के भन्दै छ भने, प्रहरीले गरेको बदमासीमा यो कुरा लुक्न सक्दैन। सीआईबीलाई पनि मेरो चुनौती छ, दम छ भने पुलिस त्यहाँ छ, म यहाँ छु, हात यहाँ छ, हत्कडी लगाएर लिएर जाने। दम कहीँ कतै देखिन्छ भने।”

प्रहरीले आफूविरुद्ध पत्रकार बोलाउने, उनीहरूलाई प्रभावमा पार्ने, पैसा दिने तथा धम्क्याउने काम गरेको आरोप लगाउँदै सुनारले प्रहरी महानिरीक्षक कार्कीलाई समेत प्रत्यक्ष चुनौती दिनुभएको छ।

उहाँले भन्नुभयो, “पत्रकार बोलाउने, रातभरि खुवाउने, पकेटभरि हालेर खामभरि दिएर हेडक्वार्टरले गरेको कुरा म यहाँबाट चुनौती दिन चाहन्छु। मेरो यहाँबाट चुनौती छ दानबहादुर कार्कीलाई– भाइ दम छ भने बर्दी खोल्ने, आउने बाहिर चुनाव लड्न। होइन भने तत्काल यस्ता भ्रष्टहरूलाई त्यहाँ बस्ने नैतिक अधिकार छैन।”

सुनारले प्रहरी नेतृत्वले आफ्नो नाम जोडेर सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रचार गराउने गतिविधि गरिरहेको आरोपसमेत लगाउनुभएको छ। उहाँले प्रहरी महानिरीक्षकको कार्यकक्ष नजिकैबाट छुट्टै साइबर तथा मिडिया गतिविधि सञ्चालन भइरहेको दाबी गर्दै त्यसबारे प्रश्न उठाउनुभएको हो।

“मैले यसो हेरेको छु, बालेन शाहको नाममा आईजीपीको त्यो कोठाभन्दा यता पट्टिबाट छुट्टै एउटा साइबर चलिरहेको छ। त्यहाँबाट छुट्टै मिडिया चलिरहेको छ आईजीपीको नाममा। आईजीपीले त्यसो गर्न मिल्छ? नेपाल प्रहरीको त्यसमा बसेर स्वास्नी यताबाट पैसा उठाउने, यिनका लोग्ने–स्वास्नीले गरेको बदमासीका हामीसँग चाङ छन्,” उहाँले भन्नुभयो।

आफूमाथि आरोप लागेपछि आफूलाई पनि बदनाम गर्ने प्रयास भइरहेको सुनारको आरोप छ। आफ्नो नाममा हिलो छ्यापिँदै गर्दा त्यसको जवाफमा आफूलाई पनि आरोपित देखाउने प्रयास भइरहेको उहाँको भनाइ छ।

उहाँले भन्नुभयो, “आज यिनीहरूलाई के लागिरहेको छ भने मतर्फ हिलो छ्यापिँदै गर्दा यसलाई पनि हिलो छ्यापियो भने यो पनि चोर हो भन्लान्। म पनि चोर हो भने मलाई र आईजीपी दानबहादुर कार्कीलाई एउटै कोठामा लगेर थुनिदिनुस् न। थुनिदिनुस्, म त हत्कडी लाउन तयार छु। तर आईजी दानबहादुर कार्की हत्कडी लाउन तयार हो कि होइन त?”

सांसद सुनारले आफूलाई सीआईबी तथा प्रहरीका केही अधिकारीले निगरानीमा राखेको दाबीसमेत गर्नुभएको छ। उहाँका अनुसार आफू जहाँ जाने गरेको छु, त्यहाँ प्रहरीका अधिकारी तथा सवारीसाधनबाट निगरानी भइरहेको छ।

उहाँले भन्नुभयो, “आज जसरी प्रत्येक रात मान्छे बोलाउने, पैसा दिने, धम्काउने, थर्काउने, खगेन्द्र सुनारको बारेमा यसो भन्यो भनेर, हिजो खगेन्द्र सुनार केही नहुँदा त नडराएर लड्यो भने आज एउटा जनताको प्रतिनिधिलाई सीआईबीले लखेट्न मिल्छ? एउटा लामा थर गरेको त्यो डीएसपी पछि लाग्या छ, मैले नाम नभनौँ अहिले। त्यो भण्डारी थर गरेको एउटा एसपी जुँगा ठड्याएर पछि लागिरहेको छ, मलाई सब थाहा छ।”

प्रहरीका अधिकारीहरूको गतिविधिबारे आफूलाई जानकारी रहेको दाबी गर्दै सुनारले उनीहरूको व्यक्तिगत गतिविधिसम्म आफूले निगरानी गरिरहेको संकेत गर्नुभएको छ। यद्यपि, उहाँले लगाउनुभएका ती आरोप तथा दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन।

सुनारले आफूले प्रहरी अधिकारीहरूको गतिविधिबारे तत्काल सार्वजनिक रूपमा धेरै कुरा नगरेर प्रक्रियामार्फत विषय उठाउन खोजेको बताउनुभयो।

“यिनीहरूको उठाउने धन्दा कहाँ हो, यिनीहरू कता फर्केर सुत्छन्, कता फर्केर थुक्छन्, कहाँबाट चाट्छन् भन्ने सब थाहा छ हामीलाई पनि। तर हामीले यसलाई प्रक्रियाबाट लिउँ भनेको हो,” उहाँले भन्नुभयो।

राजदूत नियुक्तिसम्बन्धी विवादमा आफ्नो नाम जोडिएको विषयमा पनि सुनारले स्पष्टीकरण दिनुभएको छ। उहाँले आफ्नो थर मात्र मिलेको व्यक्तिको विषयलाई आफूसँग जोडेर प्रचार गरिएको दाबी गर्नुभएको हो।

उहाँका अनुसार राजदूत नियुक्तिसम्बन्धी उजुरीका क्रममा आफ्नो नाम जोडिएको व्यक्ति आफू नभएको र केवल थर मिलेको कारण भ्रम सिर्जना भएको हो।

“अहिले राजदूतको बारेमा उजुरी आह्वान गरिएको छ, खगेन्द्र सुनारको बारेमा उजुरी परेको छ। त्यो के मिलेको थियो? त्यो बिचरा को मान्छे हो, एउटा पीएचडी गरिरहेको डाक्टर आयो, उहाँसँग मेरो थरमात्रै मिलेको हो, सुनार सुनार मिलेको हो,” उहाँले भन्नुभयो।

सुनारले प्रहरी नेतृत्वबाट आफूलाई विवादमा तान्ने प्रयास भएको दाबी गर्दै एआईजी डम्बर विकसँग जोडिएको प्रसंगसमेत सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार प्रहरी नेतृत्वले एआईजी विकलाई आफूलाई भेटेर विषय मिलाउन पठाएको थियो।

उहाँले भन्नुभयो, “डम्बर विक भन्ने एआईजीलाई पनि जसरी उहाँहरूले लखेट्नुभयो, दानबहादुरजीले त्यो एआईजीलाई पठाउनुभएको रहेछ। उहाँले के भनेर पठाउनुभएको रहेछ भने– यो तेरो थरको मान्छे हो, यसलाई गएर भेटेर कुरा मिला भन्नुभयो। मलाई एआईजी डम्बर विकले फोन गरेर, ‘भाइ, यो चिफ साबले चाहिँ यहाँ रोएर हैरान गर्नुभयो, चिफ साब जोगाउनु पर्यो’ भन्नुभयो। मैले भनेँ– मलाई बिर्सेर पनि फोन गर्नुभयो भने विचार गर्नु फेरि।”

प्रहरीले आफूलाई पछ्याइरहेको दाबी गर्दै सुनारले त्यसको प्रतिकारस्वरूप आफूहरूले पनि प्रहरीका गतिविधिमाथि निगरानी गरिरहेको बताउनुभएको छ।

“मेरो पछि–पछि डीएसपी लाइरहनुभएको छ। त्यो लामा एउटा डीएसपी मेरो पछि–पछि लाइरहनुभएको छ। कहाँ जान्छ, के गर्छ जासुसी गर्न। भाइ आउनुस् हाम्रो पछि–पछि। तर तिमी पनि कहाँ जान्छौ फेरि? तिम्रो पछाडि पनि मेरो गाडी लागिराख्या छ नि। हामीले पनि हेर्‍या छौँ नि कुन वृत्तको गाडी कति बजे पैसा लिएर छिर्छ। हामीलाई थाहा छैन? तिम्रो रक्सी कति बजे छिर्छ हामीलाई थाहा छैन?” उहाँले भन्नुभयो।

सुनारले प्रहरी नेतृत्वसँग जोडिएका व्यक्तिहरूको सम्पत्तिमाथि समेत छानबिन गर्नुपर्ने माग गर्नुभएको छ। उहाँले प्रहरी अधिकारी तथा उनीहरूका आफन्तका नाममा रहेको सम्पत्तिबारे प्रश्न उठाउँदै आफू र प्रहरी नेतृत्व दुवैको सम्पत्ति छानबिन गर्न चुनौती दिनुभएको हो।

उहाँले भन्नुभयो, “उहाँको जसरी बालुवाटारमा घर छ, महाराजगन्जमा घर छ, भक्तपुरमा जसरी घर बनाइरहनुभएको छ, उहाँको साढुभाइको नाममा जति छ, एउटा एसपीलाई अहिले क्यानडामा त्यो थापा एसपी अहिले पैसा लिएर क्यानडामा गएर व्यवस्थापन गर्न गइराख्या छ। यी सबै ठाउँको सम्पत्ति उहाँ राज्यको नाममा बुझाउन तयार हुनुहुन्छ र हत्कडी लाउन तयार हुनुहुन्छ भने म पनि तयार छु। छानबिन गरियोस् हामीमाथि।”

आफूविरुद्ध आउने आलोचना तथा सामाजिक सञ्जालका सामग्रीबाट आफू नडराउने बताउँदै सुनारले बरु यस्ता प्रचारले आफ्नो सार्वजनिक पहुँच बढ्ने दाबी गर्नुभएको छ। उहाँले आफूलाई जोडेर सामग्री सार्वजनिक गर्ने भए तथ्य र ठूला आर्थिक कारोबारसँग जोडिएका प्रमाणसहित आउनसमेत चुनौती दिनुभएको छ।

“यी जति पनि हेडक्वार्टरका क्वार्टर खाएर डकारिरहेका छन्, मलाई कुनै आपत्ति छैन। यी भेलुबाजेभन्दा तल्लो स्तरका भिडिओसँग, मेरो त फलोअर्स बढ्छ भाइ। मलाई केही फरक पर्दैन। मेरो आइरहनुपर्‍यो भिडियो चाहिँ। तर सानो–सानो आउनुभएन। अलि करोड करोडमा जोडिएर आउनुपर्‍यो, ठूला–ठूला मान्छेसँग जोडिएर आउनुपर्‍यो,” उहाँले भन्नुभयो।

सांसद सुनारले आफूविरुद्ध लागेका आरोपको छानबिन गर्न र दोषी देखिए कानुनी कारबाही भोग्न आफू तयार रहेको दोहोर्याउँदै प्रहरी नेतृत्वमाथि पनि सोही मापदण्ड लागू हुनुपर्ने माग गर्नुभएको छ।