जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार ०८:०९

नेपाली कांग्रेसको १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान, सभापतिमा गगन र  श्यामकृष्ण भिड्ने 


काठमाडौं, असोज २२। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। केन्द्रीय निर्वाचन समितिका अनुसार मतदान बिहान १० बजेदेखि सुरु हुनेछ।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिहरूले कांग्रेसको आगामी नेतृत्व चयनका लागि मतदान गर्नुहुनेछ। प्रतिनिधिहरूको सहजताका लागि काठमाडौंका तीन स्थानमा सातवटा मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकेको छ। प्रदेश तथा प्रतिनिधित्वका आधारमा छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको हो।

राष्ट्रिय सभागृहमा बागमती प्रदेशका प्रतिनिधिहरूले मतदान गर्नुहुनेछ। त्यसैगरी प्रज्ञा भवनमा गण्डकी र लुम्बिनी प्रदेशका प्रतिनिधिहरूका लागि मतदान केन्द्र तोकिएको छ। खुलामञ्चमा भने कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रतिनिधज्यूहरूले मतदान गर्नुहुनेछ।

भ्रातृ तथा शुभेच्छुक संस्था र जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधि बन्नुभएका प्रतिनिधिज्यूहरूका लागि पनि खुलामञ्चमै मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिले जनाएको छ। सम्बन्धित प्रदेश तथा समूहका प्रतिनिधिहरूले तोकिएको मतदान केन्द्रमा पुगेर मतदान गर्नुपर्नेछ।

मतदान गर्नुअघि प्रतिनिधिहरूको परिचय तथा मतदाता नामावली रुजु गरिनेछ। त्यसपछि मात्र मतदान गर्ने व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपसभापति र महिला उपसभापति पदमा भने विश्वप्रकाश शर्मा र पुष्पा भुसाल निर्विरोध निर्वाचित भइसक्नुभएको छ।

त्यस्तै, खुला दुई उपसभापति पदका लागि सात जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। समावेशी एक उपसभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ।

महामन्त्रीको खुला दुई पदका लागि आठ जना तथा महिला महामन्त्रीको एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। सहमहामन्त्रीतर्फ महिला एक पदका लागि दुई जना, खुला दुई पदका लागि नौ जना, आदिवासी जनजाति एक पदका लागि पाँच जना, दलित एक पदका लागि तीन जना, मधेसी एक पदका लागि आठ जना, खसआर्य एक पदका लागि चार जना, थारु एक पदका लागि तीन जना, मुस्लिम एक पदका लागि तीन जना, पिछडिएको क्षेत्र एक पदका लागि पाँच जना तथा अल्पसंख्यक र अपाङ्गता भएका समुदायबाट निर्वाचित हुने एक पदका लागि चार जनाको उम्मेदवारी परेको छ।

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने आजको मतदानसँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशन निर्णायक चरणमा प्रवेश गर्नेछ। मतदान सम्पन्न भएपछि मतगणना गरी नयाँ नेतृत्वसहित केन्द्रीय कार्यसमितिका विभिन्न पदको परिणाम सार्वजनिक गरिनेछ।