जनता टाइम्स

२२ आश्विन २०८३, बिहीबार ०८:५३

एमाले स्थायी कमिटी बैठक आज, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने 


काठमाडौं, असोज २२। नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ। पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

आजको बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारी पहिलोपटक वरिष्ठ नेताका रूपमा सहभागी हुनुहुने भएको छ ।  एमाले केन्द्रीय कमिटीको बैठकले स्थायी कमिटीमा सम्पूर्ण पदाधिकारी सहित थप सात जनालाई मनोनयन गरेपछि स्थायी कमिटी बैठक आह्वान गरिएको हो। पूर्वराष्ट्रपति भण्डारीलाई वरिष्ठ नेताका रूपमा मनोनयन गरिएपछि बस्न लागेको यो पहिलो स्थायी कमिटी बैठक हो।  

स्थायी कमिटीमा पदाधिकारीबाहेक ईश्वर पोखरेलसहित प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, लालबाबु पण्डित, थममाया थापा र शिवमाया तुम्बाहाङ्फे थपिनु भएको छ । 

बैठकले केन्द्रीय कमिटीबाट प्रत्यायोजित अधिकार प्रयोग गर्दै पार्टीका विभिन्न तहमा जिम्मेवारी बाँडफाँडसम्बन्धी निर्णय गर्ने बताइएको छ। त्यसअन्तर्गत केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य, स्थायी कमिटीका थप सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्च तथा विभिन्न विभागका सदस्यहरूको जिम्मेवारी टुङ्गो लगाउने एमालेको तयारी छ।

त्यसैगरी पार्टीको संगठनात्मक संरचनालाई थप व्यवस्थित बनाउने तथा विभिन्न तहमा जिम्मेवारी तोक्ने विषयमा समेत बैठकमा छलफल हुने बताइएको छ।

केन्द्रीय कमिटीले प्रत्यायोजन गरेको अधिकारअनुसार महत्त्वपूर्ण संगठनात्मक निर्णय गर्ने भएकाले आजको स्थायी कमिटी बैठकलाई एमालेको आगामी सांगठनिक गतिविधिका दृष्टिले महत्त्वपूर्ण मानिएको छ।