जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार ०८:५९

मनाङका बाढीपिडित तीन महिनादेखि घरबारविहीन, पुनर्वासको पर्खाइ


लमजुङ, १९ असोज । असार १ को बाढीले विस्थापित मनाङका बाढीपिडित पुनर्वासको पर्खाइमा छन् । तीन महिनादेखि घरबारविहीन बनेका बाढीपिडित सुरक्षति ठाउँको पुनर्वासको पर्खाइमा बसेका हुन् । नासों गाउँपालिका–१ तालगाउँका ६० घर विस्थापित भएपछि अहिले तालगाउँमा मर्स्याङदी बगेको छ ।मर्स्याङदीको बाढीले तालगाउँ अहिले बगरमा परीणत भएको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताउनुभयो ।

मर्स्याङदीमा आएको बाढीले घर बगाएपछि तालगाउँमा बाढीपीडित अहिले आमा समूहको भवन र आफन्तकहाँ शरण लिएर बस्दै आएका छन् ।

तालगाउँकी लक्ष्मी गुरुङ अहिले ताल गाउँमै आमा समूहको भवनमा बस्दै आउनुभएको छ । उहाँ भन्नुहुन्छ,‘सरकारले बस्ने घर बनाइदिए, भवन छाडेर जान्थ्यौँ । बाढीले लक्ष्मीको घरखेत बगरमा परीणत भएको छ ।’ बाढीले बस्ने घर नै बगाएपछि समस्या भएको बाढीपीडित गंगामाया गुरुङले बताउनुभयो । बाढीपीडितको पुनर्थापनाका लागि संघ र प्रदेश सरकारमा पहल भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताउनुभयो ।