जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार १०:१३

प्रचण्ड डिप्रेसनमा गइसके : महेश बस्नेत


भत्तपुर, असोज १९ । एमाले नेता महेश बस्नेतले केपी ओलीको सम्मान हुँदा प्रचण्डलाई डाह भएको र डिप्रशनमा गएको बताउनुभएको छ । एमाले प्रतिको डाह र इर्र्षाको कारण प्रचण्ड डिप्रेसनमा गइसकेको बस्नेतको भनाई छ ।

अखिल नेपाल महिला संघ, सूर्यविनायक नगरपालिका वडा नं ८ ले आयोजना गरेको कार्यक्रममा बोल्दै बस्नेतले प्रचण्डलाई एमालेसँग सिँगौरी नखेल्न आग्रह गर्दै राम्रो चिकित्सकको सहयोग लिन सुझाव दिनुभयो । कार्यक्रममा उहाँले वर्तमान सरकराले एमालेले ल्याएका सबै योजना काटेको भन्दै सरकारको आलोचना गर्नुभयो । यो सरकारको आयु बढीमा १५ महिना भएको बताउँदै उहाँले त्यस पछि एमाले आएर फेरि विकासको कामलाई गति दिने बताउनुभयो । ‘फेरि सूर्य आउँछ, फेरि एमाले आउँछ’, बस्नेतले भन्नुभयो ।

एमाले माओवादीको एकता सहितिको पार्टी भएको कुरा एमालेले अनुमोदन गरिसकेको बताउनुभयो । त्यसैले प्रचण्डलाई एमालेसँग लड्ने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो । ‘तपाईहरु पाँच दलीय गठबन्धन बनाएर आउँदैहुनुहुन्छ, आउनुहोस्, स्वागत छ, लडौँला’, उहाँले भन्नुभयो । चुनावमा जान प्रचण्ड र माधव नेपालसँग कुनै एजेण्डा नभएको पनि उहाँले बताउनुभयो ।