जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार १८:४२

प्रदेश-२ का मुख्यमन्त्रीले विश्वासको मत लिने


जनकपुरधाम, १९ असोज । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले भोलि विश्वासको मत लिने हुनुभएको छ । सत्तारुढ दल जनता समाजवादी पार्टी विभाजन भएपछि संवैधानिक प्रवधानअनुसार मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको हो । मुख्यमन्त्री राउतले विश्वासको मत लिन एक साताअघि नै प्रदेशसभा सचिवालयलाई परिपत्र गर्नुभएको थियो । २० असोजदेखि नै प्रदेशसभाको ७औं अधिवेशन आह्वान गरिएको छ ।

संविधानको धारा १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सत्ता साझेदार दल विभाजन तथा आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रवधान छ । ९ भदौमै जनता समाजवादी पार्टी (जसपा) विभाजन भई महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक पार्टीको प्रमाणपत्र निर्वाचन आयोगले दिएको थियो ।

तर, जसपाले जनप्रतिनिधिहरूलाई निर्वाचन आयोगले दल रोज्ने समय २२ भदौसम्म तोकेकाले त्यसलाई दल विभाजनको अन्तिम मिति मानेर २० असोजमा मुख्यमन्त्री राउतले विश्वासको मत लिन लाग्नुभएको हो । अहिले प्रदेश २ मा जसपा, कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकारको छ भने नेकपा एकीकृत समाजवादीले समेत मुख्यमन्त्री राउतलाई नै समर्थन गर्ने जनाएको छ । यस हिसाबले मुख्यमन्त्री राउतसँग प्रदेशसभाको एक सय चार सदस्यमध्ये दुई तिहाई भन्दा बढीको बहुमत रहेको छ ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीका एकजना गरी जम्मा ८० जना सांसदको मुख्यमन्त्री राउतलाई समर्थन रहने जसपाका एक नेताले दावी गर्नुभयो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नेकपा एमाले प्रदेश सरकारको विपक्ष रहेको छ ।