जनता टाइम्स

१९ आश्विन २०७८, मंगलवार १९:१९

नेपाल–चीनको महत्वपूर्ण फोटो सार्वजनिक गर्दै राजदूत यान्छीले गर्नुभयो सीमा विवाद नरहेको ठोकुवा


काठमाडौं, असोज १९ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल–चीन सीमा विवादमुक्त भएको बताउनुभएको छ । दुई देशबीच सीमा सम्झौतामा हस्ताक्षर भएको ६० वर्ष पुगेको अवसरमा ट्विट गर्दै राजदूत होउले सीमा सम्झौता मित्रता र आपसी फाइदाजनक सहकार्यको सेतु भएको बताउनुभएको छ ।

उहाँले ट्विट गनुृभएको छ,‘आजकै दिन ६० वर्षअघि मित्रवत वार्ताबाट चीन र नेपालबीच सीमा सम्झौताबाट हस्ताक्षर भएको थियो, त्यसबेलादेखि नै हामीबीच सीमासम्बन्धी कुनै विवाद छैन र यो मित्रताको आधार बन्यो र आपसी फाइदाजनक सहकार्यको सेतु बनेको छ ।’ राजदूत होउले नेपाल चीन महत्वपूर्ण फोटोहरु समेत सार्वजनिक गर्नुभएको छ ।

गृह मन्त्रालयले हुम्लाको नाम्खा गाउँपालिकाको लिमि क्षेत्रमा उब्जिएको सीमालगायत केही विषयमा द्वीपक्षीय सहकार्य गरेर समस्या समाधान गर्न आग्रह गर्दै परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको समाचारमा आइरहेको बेला राजदूत होउको ट्विट सार्वजनिक भएको हो ।

सरकारद्वारा जयनारायण आचार्यको नेतृत्वमा गठित सीमा क्षेत्रसम्बन्धी अध्ययन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख गरिएको सुझावका आधारमा परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको थियो । समितिले असोज १० गते गृहमन्त्री बालकृष्ण खाँणलाई अध्ययन प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनमा द्धिपक्षीय सीमा अध्ययन गर्ने निष्कर्ष निकालेको थियो ।