जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार ०८:४०

बुढीगण्डकीमा बाढीको वितण्डा : दुई झोलुङ्गे पुल र एक पक्की पुल बगायो, घरहरूमा क्षति


काठमाडौं, असोज २५ । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र एउटा फलामे पक्की पुल बगाएको छ। बाढीले विभिन्न बस्तीका घर तथा टहरामा समेत क्षति पुर्‍याएको छ भने दर्जनौँ घर जोखिममा परेका छन्।

नेपाल प्रहरीले दिएको पछिल्लो जानकारीअनुसार चुमनुब्री गाउँपालिका–६ अन्तर्गत लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको हो।

प्रहरीका अनुसार चुमनुब्री गाउँपालिका–३ स्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने उहाँकै अर्को घरमा बाढी पसेको छ।

त्यस्तै, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा पानी पसेको प्रहरीले जनाएको छ।

बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटासम्म घर जोखिममा रहेका छन्।

यसैगरी, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ।

बाढीबाट भएको क्षतिको थप विवरण संकलन भइरहेको छ। प्रभावित क्षेत्रको अवस्था र जोखिममा रहेका बस्तीबारे थप जानकारी आउन बाँकी छ।