जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार ०७:०९

गोरखामा बूढीगण्डकीको वितण्डा : सल्लेरी बजार बगायो, नदी किनारका बस्ती जोखिममा


काठमाडौं, असोज २५ । गोरखामा बूढीगण्डकी नदीमा एक्कासि ठूलो बाढी आउँदा सल्लेरी बजार बगाएको छ । बाढीका कारण नदी किनारका बस्तीसमेत जोखिममा परेका छन् ।

बूढीगण्डकी नदीको स्यारखोलाबाट बाढी आएपछि नदीमा पानीको बहाव अनियन्त्रित बनेको हो । नदी थुनिने र खुल्ने क्रमका कारण आसपासका बस्तीमा जोखिम बढेको जनाइएको छ ।

आइतबार बिहान करिब साढे ४ बजेतिर ठूलो आवाजसहित बाढी आउन थालेको थियो ।

बाढीको जोखिमलाई ध्यानमा राख्दै नदी किनारका जगत, सल्लेरी, सिर्दिवास, खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई माइकिङ तथा फोनमार्फत सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ ।

चुमनुब्री गाउँपालिकास्थित छेकम्पारमा सुक्खा पहिरो खसेर नदी थुनिएपछि बाढी आएको हुन सक्ने आशङ्का गरिएको छ । बाढीको कारण र क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ ।