जनता टाइम्स

२५ आश्विन २०८३, आईतवार ०८:२०

कांग्रेस महाधिवेशनको मतगणना : उपसभापतिमा चन्द्रकान्त भण्डारी र विनाेद चाैधरी तथा महामन्त्रीमा प्रदीप पौडेल र डिला संग्राैला अगाडि


काठमाडौं, असोज  २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भइरहेको मतगणनामा केन्द्रीय उपसभापति (खुला) तर्फ डा. चन्द्रकान्त भण्डारी र उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले अग्रता लिनु भएकाे छ । 

प्राप्त पछिल्लो मतगणना विवरणअनुसार महामन्त्री (खुला) तर्फ प्रदीप पौडेल र महामन्त्री महिलामा डा. डिला संग्रौला (पन्त) ले अग्रता कायम गर्नुभएको छ।

उपसभापति (खुला) तर्फ डा. भण्डारीले ६२३ मत प्राप्त गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी ई. मधु आचार्यले ३४३ मत प्राप्त गर्नुभएको छ ।त्यस्तै, गोविन्द भट्टराईले २९१, सुरेन्द्रराज पाण्डेले २८९, दीपक गिरीले २४२, धनराज गुरुङले २११ र प्रा.डा. चन्द्रमोहन यादवले १२६ मत प्राप्त गर्नुभएको छ।

उपसभापति (समावेशी) तर्फ विनोदकुमार चौधरीले ३४७ मतसहित अग्रता लिनुभएको छ। सो पदमा जीवन परियारले २८७, फरमुल्लाह मंसुरले १६४, सीता गुरुङले १५१ र रञ्जित कर्णले ९८ मत प्राप्त गर्नुभएको छ।

केन्द्रीय महामन्त्री (खुला) तर्फ प्रदीप पौडेलले ६८८ मत प्राप्त गर्दै अग्रता कायम गर्नुभएको छ। अमरसिंह पुन मगरले ४४३ र उदयशम्शेर राणाले ३८८ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, डा. सुनिलकुमार शर्माले ३००, गुरुराज घिमिरेले १६९, नैनसिंह महरले १२९, शंकर तिवारीले १९ र डा. सन्तोष उपाध्यायले १७ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, केन्द्रीय महामन्त्री (महिला) तर्फ डा. डिला संग्रौला (पन्त) ले ५२३ मत प्राप्त गर्दै अग्रता लिनुभएको छ। महालक्ष्मी उपाध्याय (डिना) ले ४८४ मत प्राप्त गर्नुभएको छ भने रीता खनालले १३९ मत पाउनुभएको छ।

मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।