जनता टाइम्स

२१ आश्विन २०७८, बिहीबार २२:०९

नागढुंगा प्रहरी प्रभागका सबै प्रहरी हटाइए: यस्तो छ कारण


काठमाडौं, २१ असोज । महानगरीय प्रहरी प्रभाव नागढुंगामा कार्यरत् प्रहरी निरीक्षकसहित सबै जना प्रहरीलाई हटाइएको छ।चाडवाडको मुखमा कार्यसम्पादन लगायत कामकारबाहीलाई लिएर प्रहरी निरीक्षक त्रिभुवनसिंह थापासहित सबै जना प्रहरी कर्मचारीलाई कामबाट हटाइएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो)ले बुधबारदेखि लागू हुने गरी नागढुंगा प्रभागको सबै टोली फिर्ता गरेर प्रहरी निरीक्षक निरू दुवालको नेतृत्वमा नयाँ टोली पठाएको हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले भन्नुभयो, ‘चाडवाडको समयमा सुरक्षा प्रबन्ध मिलाउन र आन्तरिक गुनासो सम्बोधन गर्नको लागि पुरानो टोली फिर्ता गरी नयाँ टोली पठाइएको हो।’सुवेदीका अनुसार अनुसार उक्त प्रभागमा नयाँ प्रहरी निरीक्षक निरु कटुवालको नेतृत्वमा टोली खटाइएको छ।

प्रहरीले आन्तरिक गुनासो सम्बोधन, चाडवाडको समयमा आइरहेको गुनासो र प्रहरी आन्तरिक शुद्धीकरणको लागि नागढुंगाको टोली परिवर्तन गरिएको सुवेदीले जानकारी दिनुभयो ।नागढुंगा प्रभागमा प्रहरी निरीक्षकको नेतृत्वमा ३३ जनाको दरबन्दी थियो। नागढुंगा काठमाडौं प्रवेश गर्ने मुख्य नाका हो।